७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

गुणस्तरहीन अटो दिएर ठगी : ऋणमाथि ऋणमा डुबे पीडित



बिर्तामोड- झापा बिर्तामोडको नेपाल ट्रेड कन्सर्नले पियाजिओ कम्पनीको अटो दिने भन्दै गुणस्तरहीन अटो दिएर ठगी गरेको पीडितले आरोप लगाएका छन् ।

नेपाल ट्रेड कन्सर्नले ठगेको भन्दै उनीहरुले मंगलवार पत्रकार सम्मेलन गरी आफ्नो समस्या सार्वजनिक गरेका हुन् ।
२०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले टुकटुक ब्राण्डको अटो बेचेको थियो ।

खरिद गरेको दिन अटो बिग्रेको, कमाई भन्दा अटो मर्मतमा बढी खर्च भएको इन्धन खपत अत्याधिक भएको लगायतका पीडितले बिक्रेतालाई अटो फिर्ता गरेका थिए ।

पीडितमध्ये बिर्तामोड–४ का दुर्गाप्रसाद सुबेदीले अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको थाहा पाएपछि फिर्ता गरेको बताए । उनले सहकारीमार्फत फाइनान्समा अटो किनेका हुन् ।

सुबेदीको झण्डै छ लाख रुपैयाँ डुवेको छ । साँवा व्याज हिसाव गर्दा झण्डै दश लाख बरावर हुन्छ । शोरुम सञ्चालक सुरेश साह र उमेश साहलाई समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि नटेरेको पीडितको गुनासो छ ।

सञ्चालकको गैरजिम्मेवार अभिव्यक्तिका कारण क्षतिपूर्तिका लागि आफुहरु सम्बन्धित निकायको ढोकासम्म पुग्न बाध्य भएको उनले बताए ।

हल्दिबारी–२ का किरण आचार्यको पनि गुनासो उस्तै छ । आचार्यलाई बजाजको अटो दिने भनेर एकलाख ८० हजार लिइएको थियो ।
अटो घर लगेर केही बेरमा स्टार्ट गर्न खोज्दा नभएपछि उनले छिमेकीलाई बोलाए । हेर्दा ट्यांकी चुहिएको र पेट्रोल सकिएर स्टार्ट नभएको पाइयो ।

सम्झौता अनुसार किस्ता बुझाउन नसकेपछि उनले सहकारीलाई अटो जिम्मा लगाएका थिए । उनले सहकारीमा एक लाख किस्तासमेत तिरेका थिए ।

अटोमा उल्टै रकम डुबेपछि आफू बिदेश गएको र सहकारीले ऋण तिर्न ताकेता गर्दा मात्र आफ्नो ऋण बाँकी रहेको थाहा पाएको आचार्यले गुनासो गरे ।

बिर्तामोड–३ का सतिस साहले आफ्नो अर्को कम्पनीको सिटी, एक लाख ७० हजार नगद र सहकारीबाट ऋण लिएर किनेको अटो भोलिपल्टै बिग्रेको र कुदाउँदा कुदाउँदै १५ दिनपछि च्यासिस भाँचिएर दुर्घटना भएको बताए ।

घाइतेको उपचार खर्च समेत ऋण गरेर तिरेको तर कतैबाट कुनै किसिमको सहयोग आफुले नपाएको उनले गुनासो गरे ।दोस्रोपटक पनि च्यासिस भाँचिएपछि किनेको तीन महिनापछि शोरुमलाई अटो जिम्मा लगाएको साह बताउँछन् ।

तर शोरुमले हालसम्म पनि आफ्नो पैसा फिर्ता नगरेकाले ब्याज बढेर आफू ऋणमा डुबेको भन्दै साहले आक्रोश पोखेका छन् ।

कार्यक्रममा अन्य पिडितहरु शिवनन्द राजबंशी कचनकवल–१, गंगादेवी बुढाथोकी शिवसताक्षी–१०, निराकुमारी खड्का अर्जुनधारा–१ र बिर्तामोड–८ निवासी दीपा ढुंगेल उपस्थित थिए । उनीहरुसहित २३ जना भन्दावढी ठगिएका छन् ।

शोरुम सञ्चालक सुरेश साहले भने पीडितले भने जस्तो अटो गुणस्तरहीन नभएको जिकिर गरे । टुकटुक भारतीय ब्राण्डको भएको र बिर्तामोडको सडकमा अहिले पनि सञ्चालनमा रहेको बताए । मेसिनरी सामान पुरानो हुँदै जाँदा सामान्य समस्या आउने उनले दाबी गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ००:००  ८ : ५४ बजे