- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
सुब्रत न्यौपाने
झापा : नेपालको कृषिजन्य उत्पादन अलैँचीको आन्तरिक खपतका विषयमा देशव्यापी ‘क्याम्पियन’ सुरु भएको छ ।
नेपाल अलैँची व्यवसायी महासंघले ‘वाह अलैँची’ अभियान घोषणा गरेपछि यसको आन्तरिक खपतका विषयमा सरोकारवालासँग देशव्यापी रुपमा क्याम्पियन थालेको हो ।
महासंघले साताअघि कृषि विकास मन्त्रालय र स्वीस सरकारको सहज परियोजनाको सहयोगमा ‘वाह अलैँची’ अभियान घोषणा गरेको थियो ।
विश्व बजारमा अलैँचीको माग उच्च भइरहेका बेला महासंघले ‘स्वाद अलैँचीको मीठास नेपालको’ भन्ने नारासहित वाह अलैँची अभियान सुरु गरिएको जनाएको छ ।
अलैँची अभियान प्रवद्र्धनका लागि महासंघले मास्टर सेफ सन्तोष साहलाई ‘ब्राण्ड एम्वासेडर’ तोकेको छ । उनले अलैँचीको प्रयोग बढाउन ‘फुड कम्पिटिसन’ लगायतका कार्यक्रम पनि चलाइरहेका छन् ।
परम्परागत नेपाली खानाका परिकारको अलैँचीको प्रयोगबारे खोजी सुरु गरिएको छ । अभियान घोषणापछि विभिन्न जिल्लामा क्याम्पियन सञ्चालन भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
‘अलैँचीको आन्तरिक खपत कसरी बढाउने भन्नेमा हाम्रो क्याम्पियन केन्द्रीत छ’, अध्यक्ष भट्टराईले भने, ‘भारतमा मात्रै अलैँची निर्यात गर्दा यसको प्रवद्र्धन सम्भव छैन् ।’
खोल्साको कालो सुनको उपमा पाएको अलैँचीको भाउ अहिले प्रतिमन ३२ हजार रुपैयाँ छ । घट्दो मूल्यले किसान र व्यवसायी चिन्तित भइरहेका बेला वाह अलैँची प्रवद्र्धन अभियान चलाइएको हो ।
अध्यक्ष भट्टराईका अनुसार उत्पादित अलैँचीको आन्तरिक खपत पाँच प्रतिशतको हाराहारीमा मात्रै छ । नेपालमा पाँच हजार दुई सय मेट्रिक टनको हाराहारीमा अलैँची उत्पादन हुन्छ ।
प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना आन्तरिक खपत बढाउन सके अलैँची किसानले राम्रो लाभ लिन सक्ने बताउँछन् ।
‘पहिले आफूले प्रयोग गर्नुपर्छ अनि मात्रै अरुलाई भन्न सकिन्छ’, अलैँची प्रवद्र्धन अभियानको क्याम्पियनमा कृषि सचिव तिम्सिनाले भने, ‘प्रदेशको पहिलो निर्यातजन्य प्रतिस्पर्धी बाली भनेकै अलैँची हो ।’
वाह अलैँची अभियानका ब्राण्ड एम्वासेडर मास्टर सेफ साह नेपालमा अलैँचीको आन्तरिक खपत बढाउन सकिनेमा विश्वस्त छन् । साहले हरेक घरको भान्सामा दैनिक अलैँची प्रयोग गर्न सकिने उपाय सुझाएका छन् ।
‘नेपाली ६० प्रकारका परिकारमा अलैँची प्रयोग गर्न सकिने पहिचान गरेका छौँ’, मास्टर सेफ साहले भने, ‘अहिले आधा मात्रैमा प्रयोग भयो भने पनि अलैँचीको आन्तरिक खपत ह्वात्तै बढेर जान्छ ।’
वाह अलैँची अभियानमा सघाइरहेको स्वीस सरकारको सहज परियोजनाका नेपाल लिडर रिक भेण्डर केम्प आन्तरिक खपत बढाउने र विदेश निर्यात गर्ने विषयमा नेपाललाई ठूलो अवसर रहेको बताउँछन् ।
‘आन्तरिक खपत बढाउने उपाय सोच्नुपर्छ’, उनले भने, ‘भारत मात्र होइन, विश्व बजारमा पनि नेपालको आफ्नो पहिचान सहितको अलैँची निर्यात गर्न सकिन्छ ।’
पूर्व मेचीदेखि पश्चिमका ५३ जिल्लामा १८ हजार हेक्टर भन्दाबढी क्षेत्रफलमा अलैँची उत्पादन हुन्छ । अलैँची खेतीमा एकलाख भन्दाबढी किसान र १० हजारको हाराहारीमा व्यवसायी संलग्न छन् ।
नेपालमा छवटा प्रजातिका अलैँची उत्पादन भइरहेका छन् । अहिले झण्डै २५ हजार बोरा अलैँची स्टक छ । नेपालमा उत्पादित कृषिजन्य उत्पादनमध्ये अलैँचीले सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्छ ।
अघिल्लो आर्थिक वर्षमा सात अर्ब २० करोड रुपैयाँ बरावरको अलैँची निर्यात भएको थियो । तर, गतवर्ष निर्यात घटेर करिव पाँच अर्वको हाराहारीमा सीमित भएको महासंघका अध्यक्ष भट्टराईले बताए ।
विश्व बजारमा नेपालको उत्पादनले ६० प्रतिशत हिस्सा ओगटेको छ । नेपालबाहेक भारत र भुटानमा पनि अलैँची उत्पादन हुन्छ ।