६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

आठ वर्षपछि झापामा अनेमसंघको जिल्ला अधिवेशन




झापा – अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ ४ र ५ गतेका लागि सम्मेलन आयोजना गरिएको जनाउँदै सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

बिर्तामोडमा आयोजना गरिएको सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन आएका अध्यक्ष ओली दुई दिनदेखि झापामै छन् ।

तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि हुन लागेको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् ।

‘अघिल्लो स्थानीय तहको निर्वाचन, पार्टी एकीकरण, कोरोना संक्रमण लगायतका कारण जिल्ला अधिवेशन गर्ने मौकै मिलेन’, पत्रकार सम्मेलनमा अध्यक्ष गजमेरले भनिन् ।

सम्मेलनमा दुई हजार महिलाको सहभागिता रहनेछ । सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ ।

अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेका अनुसार झापा जिल्ला कमिटीले यो पटक पार्टी काम र महिला मुक्ति आन्दोलनमा लाग्दा जेल बसेका, हिरासतमा परेका र मरणासन्न हुने गरी यातना पाएका महिलालाई सम्मान गर्ने छ ।

अधिवेशनमा अनेम संघको नेतृत्व गरिसकेका जिल्ला अध्यक्षहरुलाई पनि सम्मानको कार्यक्रम राखिएको छ ।

अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका साथ झापा जिल्ला अधिवेशन आयोजना गरिएको बताइन् ।

सम्मेलनमा ४०१ महिला प्रतिनिधि रहेका छन् । क्षेत्र गतरुपमा आएका प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।

सम्मेलनमा महिला आन्दोलनका अगुवाहरु मोतिदेवी श्रेष्ठ, कामक्षादेवी बस्नेत, सहाना प्रधान, साधना प्रधान, विदुषी योगमाया न्यौपाने लगायतका तस्वीर राखिने जिल्ला अध्यक्ष गजमेरले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ००:००  २ : ३० बजे