८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नौ कक्षाका विद्यार्थीका लागि अंग्रेजी अभ्यास पुस्तक बजारमा



बिर्तामोड- कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि अंग्रेजी अभ्यास पुस्तक बजारमा आएको छ । नयाँ पाठ्यक्रममा आधारित अभ्यास किताव बजारमा आएको हो ।

झापाली लेखक टीका सुवेदीसहित तीन जनाले उक्त किताव लेखेका हुन् । पुस्तकमा सुवेदी बाहेक बुटवलका यीवराज तिवारी, चितवनका देवप्रसाद पण्डित पनि लेखकका रुपमा छन् ।

‘लामो शिक्षण अभ्यासको समिश्रणका रुपमा यो किताव आएको छ’, नेल्टा झापाका सचिव समेत रहेका सुवेदीले भने, ‘प्रयोगात्मक अभ्यास गर्न चाहने विद्यार्थीका लागि यो धेरै उपयोगी पुस्तक हो ।’

किताव अनलाइन प्रविधिमा आधारित छ । विद्यार्थीले प्रविधिको प्रयोगमार्फत पनि शिक्षण अभ्यासमा भाग लिन सक्नेछन् । पाठ अनुरुपमा लिङ्क पनि पुस्तकमा समावेश छन् ।

पाठ्यक्रममा समावेश भएका सबै विषयबस्तुको पर्याप्त अभ्यास गर्न पाउने गरी किताव लेखिएको सुवेदीले बताए । संगम बुक्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तक एमएस साउदले सम्पादन गरेका छन् ।

पछिल्लो दुई महिनामा तयार भएको कितावको मूल्य ५५० रुपैयाँ छ । बिक्रेताले २० प्रतिशतसम्म छुट दिएर किताव उपलब्ध गराउन सक्छन् ।

कार्यक्रममा सहभागी शिक्षक शिक्षिका ।

झापामा जीविका इन्टरप्राइजेजले कितावको प्रवद्र्धन गरिरहेको छ । झापाका सरकारी तथा निजी विद्यालयमा अध्यापनरत अंग्रेजी शिक्षकले बिर्तामोडमा आयोजित कार्यक्रममा शनिवार एकसाथ पुस्तक सार्वजनिक गरेका छन् ।

नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईका अनुसार प्रकाशित पुस्तकको विषयमा अंग्रेजी शिक्षकबीच समूह समूहमा छलफल गराइएको छ । समूहगत रुपमा शिक्षकले आ–आफ्नो सुझाव राखेका छन् ।

छलफलमा सहभागी अरनिको मावि भद्रपुरकी अंग्रेजी शिक्षक बिन्दुकला राईले शिक्षण अभ्यासमा यो पुस्तक शिक्षक र विद्यार्थी दुवैका लागि उपयोगी हुने बताइन् ।

पुस्तकका विषयमा चर्चा परिचर्चा गर्न आयोजित कार्यक्रममा सहभागी शिक्षकहरुले यस प्रकारको पुस्तकको प्रकाशनका लागि लेखकहरुलाई प्रेरित गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।

हिजोका दिनमा अंग्रेजी सिकाईमा भोग्नु परेको जटिलता स्मरण गर्दै कविशिरोमणि मावि मेचीनगरका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले आज सरल र सहज ढंगलमा सिक्न सकिने अवस्था रहेको बताए ।

कार्यक्रममा प्याब्सन बिर्तामोड नगर कमिटीका अध्यक्ष उत्तम खनाल, नेल्टा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष ओमप्रसाद आचार्य लगायतले कार्यक्रममा आ–आफ्नो सुझाव राखेका थिए । कार्यक्रममा इस्टु नगर अध्यक्ष रमा सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार ००:००  ११ : ५५ बजे