१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पुरस्कृत प्रतिभालाई क्षितिज नाट्य प्रतिष्ठानद्वारा सम्मान



बिर्तामोड- क्षितिज नाट्य प्रतिष्ठानले प्रदेश सरकारद्वारा सम्मानित तीनजना झापाली कलाकर्मी र स्रष्टालाई सोमवार बधाई तथा शुभकामनासहित प्रशंसापत्र प्रदान गरेको छ ।

झापा नाटक घरमा आयोजित समारोहका बीच प्रतिष्ठानका अध्यक्ष माधव कल्पितसहित साहित्यकारहरु लीला अनमोल र खगिन्द्रा खुशीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

प्राज्ञ परिषद् सदस्य शुभद्रा अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानले भाषा, कला साहित्य र संस्कृतिको जगेर्नामा लागेका कलाकर्मी, स्रष्टा र सर्जकलाई बधाई शुभकामना दिँदै सम्मान गर्ने परम्परा बसालिएको जनाएको छ ।

असार अन्तिम साता प्रदेश सरकारले क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितलाई कलार संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान गरेको जनाउँदै ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको थियो ।

अविच्छिन्न साहित्य सिर्जनामा लागेका विशिष्ट झापाली नारी प्रतिभा साहित्यकार अनमोल र खुशी पनि नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट जनही २५ हजार रुपैयाँसहित पुरस्कृत भएका थिए ।

प्रदेश सरकारको सम्मानपछि क्षितिजले उनीहरुलाई आफ्नै घर आँगनमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै प्राज्ञ सभा सदस्य अर्यालले सर्जकहरुलाई हेप्ने राज्यको शैलीमा सुधार आए पनि त्यसमा चित्त बुझाउने ठाउँ नरहेको बताइन् ।

साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले भाषा, कला र साहित्यको विकास र संरक्षणमा सम्मानित प्रतिभाको भूमिका प्रशंसनीय रहेको बताउँदै नयाँ प्रतिभालाई गोलवद्ध गर्दै लैजानुपर्ने बताए ।

पुरस्कृत प्रतिभामध्ये प्रतिष्ठानका अध्यक्ष रंगकर्मी कल्पितको रंगयात्राको विषयमा अग्रज पत्रकार सुब्रत न्यौपानेले प्रकाश पारेका थिए । साहित्यकारद्वय अनमोल र खुशीका विषयमा भने साहित्य चौतारीकी सदस्य सुनिता तामाङले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा पुरस्कृत प्रतिभालाई प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लीला अधिकारी, प्रतिष्ठानका सल्लाहकार सदस्य प्रेम खरेल लगायतले शुभकामना दिएका छन् ।

क्षितिज साहित्यिक प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले सञ्चालन गरेको कार्यक्रम माया सिटौलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मोरिक साधना कला केन्द्रका विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कला केन्द्रका विद्यार्थीलाई गीता थापाले प्रशिक्षित गर्दै आएकी छन् । नौमती बाजा व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कृत प्रतिभालाई झाँकीसहित सभाहल प्रवेश गराएका थिए ।

ज्ञानुरामलाई सम्झिएर भावुक भए कल्पित

बहुजातिय संग्रहालयसहितको झापा नाटक घर निर्माण अभियानमा जोडिएर व्यवस्थापन समितिको नेतृत्व गरिरहँदा ज्ञानुराम प्रसाईको सपना साकार हुँदै थियो ।

कल्पितको परिकल्पना अनुसार एउटा भरपर्दाे सामाजिक व्यक्तित्वका रुपमा ज्ञानुरामले झापा नाटक घर निर्माणको योजनासहित आर्थिक स्रोत व्यवस्थापन गर्दै काम अगाडि बढाएका थिए । आज तिनै ज्ञानुराम नहुँदा कल्पितले खल्लो महसुस गरे ।

सवारी दुर्घटनामा २०७८ असार २५ गते प्रसाईको निधन भएको थियो । उनले आफ्नो र ज्ञानुरामको सपनालाई मूर्तरुप दिन कुनै कसर बाँकी नराख्ने बताए ।

‘बहुजातिय संग्रहालयसहित झापा नाटक घरको परिकल्पना हो हाम्रो’, कल्पितले भने, ‘आज ज्ञानुसर हुनु हुन्न । तर, उहाँको र मेरो सपना जीवित छ, मान्छेको जीवन हो कुन बेला के हुन्छ भन्न सकिन्न । तर, म यो काम पूरा गरेरै छोड्छु ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ००:००  ९ : १५ बजे