७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अरुण थापाको स्मृतिमा साहित्य चौतारीको सभाहल गुञ्जायमान



बिर्तामोड- साहित्य चौतारी झापाको साउन पहिलो साताको मासिक सांगीतिक काव्यसभा लोकप्रिय गायक अरुण थापाको सम्झनामा समर्पित भएको छ । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षतामा अरुण थापाको स्मृतिसहित काव्य सभा आयोजना गरिएको हो ।

साहित्य चौतारीका संरक्षक श्रेष्ठले काव्य सभा गायक थापाको स्मृति विशेष सम्मानमा समर्पित भएको बताए । ‘थापाको २३ औँ स्मृति दिवस र काव्य सभालाई संयुक्त रुपमा मनाएका छौँ’, संरक्षक श्रेष्ठले भने ।

कालजयी गायन प्रतिभाका धनी थापाको ४७ वर्षको उमेरमा २०५६ सालमा निधन भएको थियो । गायक थापाको साङ्गीतिक योगदानमाथि प्रकाश पार्दै साहित्यकार कृष्ण पौडेलले उनका गीत सतिसाल जस्तै रहेको र ती कहिल्यै नमर्ने बताए ।

मासिक काव्यसभा संयोजक सुनिता तामाङका अनुसार कार्यक्रममा सरगम संगीतालय, क्षितिज नाट्य समूह, मोरिक साधना कला केन्द्र, सिंहबाहिनी महिला समूहले आफ्नो प्रस्तुति राखेका छन् ।

साहित्य चौतारीको विशिष्ट संगीत सम्मानद्वारा सम्मानित अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा रक्षा तिम्सिनाले स्वागत गान प्रस्तुत गरेकी छन् ।

कार्यक्रममा गायक समिर खरेलले स्वर्गीय थापाले गाएका विभिन्न गीत प्रस्तुत गरेका छन् । खरेलको विशेष प्रस्तुतिले साहित्य चौतारीको सभाहल गुञ्जायमान भएको छ ।

जीवन जगदीश धितालले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुलाई कोषाध्यक्ष भवानी गौतमले स्वागत सत्कार गरेका छन् ।

कार्यक्रममा संरक्षक उर्मिला विमली मानार्थ सल्लाहकार लोकनाथ पौडेल, पूर्व सचिव दिलिप घिमिरे, गायक बलराम राजवंशी, साहित्यकार एनबी दाहाल, कवि प्रमोद दाहाल, गायक राजकुमार राई र जीतेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालकलाकारले पनि आफ्नो प्रस्तुति देखाएका छन् । विभिन्न विधाका तीनवटा प्रतियोगितामध्ये कवितातर्फ विद्या सिग्देल प्रथम भएकी छन् ।

गायनतर्फ भूपेन्द्र रणपहेलीले प्रथम पुरस्कार जितेका छन् । नृत्यतर्फ मनिषा भट्टराई प्रथम भएकी छन् । यसअघि अघिल्लो साता साहित्य चौतारीले २३ औँ वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ००:००  ८ : ३९ बजे