- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड – व्यवसायीकाे समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले गठन गरेको कार्यदललाई अस्वीकार गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नो आन्दोलन जारी राखेको छ ।
कार्यदलमार्फत समस्याको समाधान खोज्ने नगर कार्यपालिकाको निर्णय अस्वीकार गर्दै बुधबार पनि वाणिज्य सङ्घले नगरपालिका कार्यालय पुगेर नाराबाजी गरेकाे हाे ।
कृषिथोक उत्तर बुधबारे हटियामा व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीलाई बिजुलीको मिटर दिनुपर्ने माग गर्दै वाणिज्य संघले लगातार चार दिनदेखि नगरपालिका कार्यालय घेराउ गर्दै आएको छ ।
व्यवसायीको आन्दोलन र मागका विषयमा आवश्यक अध्ययन गरी समस्याको समाधान गर्न नगर कार्यपालिकाको बैठकले हिजो उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
व्यवसायीको समस्या समाधान गर्न नगरपालिका सकारात्मक भएपनि कार्यदल गठनका विषयमा केही थाहा नपाएजस्तो गरी वाणिज्य संघले आफ्नो आन्दोलनलाई निरन्तरता दिएको हो ।
आन्दोलनका क्रममा नगरपालिकाकाे गेट भत्काउन खोजेकाे भन्दै प्रहरीले संघका अध्यक्ष प्रकाश सिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्याैपानेसहित ११ जनालाई पक्राउ गरेको छ ।
संघको आन्दोलन चलिरहँदा बिर्तामोडका व्यवसायी दुई समूहमा विभाजित भएका छन् । मंगलवार एकथरि व्यवसायीले नगरपालिका कार्यालय घेराउ गरिरहँदा अर्काथरि व्यवसायी ‘वाणिज्य दलाल मुर्दावाद’ भन्दै नारा लगाइरहेका थिए ।
आपसी वार्ता, साझा सहमति र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने अवस्थामा वाणिज्य संघकाे नेतृत्व दलीय पूर्वाग्रह राखेर स्थानीय सरकारविरुद्ध खनिन थालेको संघका एकजना पूर्व अध्यक्षले बताए ।
‘व्यवसायीको हितविरुद्ध स्थानीय सरकार लाग्छ भन्ने मलाई लाग्दैन’, पूर्व अध्यक्षले भने, ‘संघका साथीहरु अहिलेको अहिल्यै मिटर भएन भनेर आन्दोलनमा जानु उपयुक्त थिएन ।’
उनले जति आन्दोलन गरेपनि वार्ताका माध्यमबाट साझा निष्कर्षमा पुग्नुको विकल्प नभएको दोहोर्याएका छन् ।
आन्दोलनका नाममा व्यापार व्यवसाय बन्द गर्ने र सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने लगायतका काम गर्न नहुनेमा उनको जोड छ ।