१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्तामोडमा व्यापार व्यवसाय बन्दविरुद्ध उत्रिन महासङ्घको अपिल



बिर्तामोड– नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले कुनैपनि आन्दोलनका नाममा व्यापार व्यवसाय बन्द गर्न नसकिने जनाउँदै त्यसको प्रतिवादमा उत्रिन बिर्तामोडका सबै व्यवसायीलाई अपिल गरेको छ ।

महासंघले हिजो साँझ विज्ञप्ति निकालेर बजारमा बन्द हड्ताल गर्ने उद्योग वाणिज्य सङ्घको आह्वानप्रति असहमति जनाउँदै कुनै पनि हालतमा व्यापार व्यवसाय बन्दको कार्यक्रम नमान्ने जनाएको हो ।

यसअघि बिर्तामोड उद्योग वाणिज्य संघले कृषि थाेक उत्तर बुधबारे हटियाका व्यवसायीले बिजुलीको मिटर नपाएको बिरोधमा नगरपालिकाको दैनिक कामकाज प्रभावित हुने गरी धर्ना जुलुस गर्दै आएको छ ।

संघले व्यवसायीलाई बिजुलीको मिटर नदिएको विरोधमा मंगलबार पनि नगरपालिका कार्यालय घेराउ गर्न आफ्नो व्यापार व्यवसाय बन्द गरेर आउन अपिल गरेपछि महासङ्घ त्यसको विरोधमा उत्रिएको हो ‌‌।

महासंघ नगर कमिटीका अध्यक्ष विवेक निरौलाले बजार बन्दको दबाबलाई सचेत उद्योगी व्यवसायीका तर्फबाट प्रतिवाद गर्दै व्यापार व्यवसाय सञ्चालन गर्ने बताउनुभयो ।

वाणिज्य संघको बैठक नबसी अनाधिकृत रुपमा आह्वान गरिएको व्यवसायीमारा बन्द हडताल अस्वीकार गर्दै नियमित रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न महासंघले सबै व्यवसायीलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार ००:००  ७ : ५९ बजे