१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बिर्तामोडमा सर्बदलीय बैठकमा हात हालाहाल, मेयरमाथि दुर्व्यवहार




बिर्तामोड– कृषिथोकका व्यवसायीको समस्यालाई लिएर बिर्तामोड नगरपालिकामा आज आयोजना गरिएको सर्वदलीय बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ । बैठकमा चर्काचर्कीपछि हात हालाहालको अवस्था आएको हो ।

नगरपालिकाले सर्वदलीय बैठक राखेर व्यवसायीका समस्याको विषयमा निष्कर्ष निकाल्ने योजना बनाएको थियो । बैठक चलिरहँदा व्यवसायी नाराजुलुससहित नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।

बाणिज्य संघको नेतृत्वलाई समेत राखेर बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव आएपछि संघका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित व्यवसायीका तर्फबाट छ जनालाई बोलाइएको थियो ।

बैठकमा मेयर पवित्रा महतारा प्रसाईले बोल्न थालेपछि वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले उठेर असहमति राख्न खोज्नु भयो । न्यौपानेलाई एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले मेयरका कुरा पहिले सुनिदिन आग्रह गर्नुभयो ।

तर, उपाध्यक्ष न्यौपाने त्यत्तिमै रोकिनु भएन । उहाँले भट्टराईमाथि ‘तँ को होस् मलाई रोक्ने’ भन्दै हातपातको प्रयास गरेको बैठकमा सहभागीले जनाएका छन् ।

‘उपाध्यक्ष न्यौपानेले मेयरलाई नै दुर्व्यवहार गर्नुभयो, बैठकमा सहभागी सदस्यले भने, ‘एमाले अध्यक्ष भट्टराईसँग त हात हालाहालको स्थिति नै देखियो ।’

एमाले नगर अध्यक्ष भट्टराईले हप्कीदप्की गर्ने शैलीमा न्यौपाने प्रस्तुत भएको र मेयरमाथि दुर्व्यवहार गरेको बताउनु भयो । ‘बाणिज्य संघका उपाध्यक्ष न्यौपानेले मेयरमाथि दुर्व्यवहार गर्न थालेपछि मैले रोकेको हो’, अध्यक्ष भट्टराईले भन्नुभयो ।

कृषिथोकका व्यवसायी मिटर नपाएको झोकमा वाणिज्य संघले सातदिने अल्टिमेटम दिएपछि नगरले सर्वदलीय बैठक आह्वान गरेको हो ।

मेयर प्रसाईले जग्गा दाताको समेत समर्थन लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइरहँदा संघका अध्यक्ष प्रकाश सिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपाने आक्रोसित हुनु भएको थियो ।

एमाले अध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष न्यौपानेबीच चर्काचर्की भएपछि डीएसपी रुगमबहादुर कुँवरले छुट्टयाउनु भएको थियो ।

त्यसलगतै वरिष्ठ उपाध्यक्ष न्यौपाने आफूमाथि दुर्व्यवहार भएको भन्दै बैठकस्थलबाट बाहिरिनु भयो । बाहिर नाराजुलुस गरिरहेका व्यवसायीले तोडफोडमा उत्रिने प्रयास गरेपछि प्रहरीले तत्काल स्थितिलाई नियन्त्रणमा लियो ।

उपाध्यक्ष न्यौपानेले आफूले नभई भट्टराईले पहिले ‘तँ बस’ भनेर डोमिनेट गरेपछि आफूले पनि ‘मलाई रोक्ने तँ को होस्’ भनेर भनेको दावी गर्नुभयो ।

‘विवाद बढ्दै गएपछि म बैठकस्थलबाट बाहिरिएको हुँ’ न्यौपानेले भन्नुभयो, ‘मैले मेयरमाथि दुर्व्यवहार गरेको छैन् ।’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ००:००  २ : ०० बजे