१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

पाथीभरामा दर्शनार्थीका लागि ‘पोर्टेबल’ शौचालय



ताप्लेजुङ – ३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको ताप्लेजुङमा अवस्थित पाथीभरा दर्शनका लागि पुगेका तीर्थयात्रीको गुनासो हुन्छ ‘शौचालय नै भएन ।’ यसैसाता मात्रै नया अभ्यास थालिएको छ ।

पाँच÷छ मिटरको खाल्टा खन्ने, त्यसमाथि छपनी लगाएर पुर्ने र त्यसको माथि तयारी शौचालय उभ्याउने । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो पोर्टेबल शौचालय हो ।

आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिन्छ । पर्याप्त पानीको व्यवस्थापन हुन नसकेकोमा यहाँ यस्तो शौचालयमा शौच गर्ने ठाउँ मात्रै सफा गरे हुन्छ ।

धर्मशालाहरूको छानाबाट पानी संकलन गरिन्छ । तराई र शहरी क्षेत्रबाट आएका बालबालिका बाहिर सौच गर्न नमान्ने हुनाले यस्तो शौचालय निर्माण गरेको समितिका अध्यक्ष रक्की थेवे बताउँछन् ।

मन्दिर परिसर बाहिर अहिले तीन शौचालय निर्माण गरिएको छ । माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमीटरमा पाँच वटा शौचालय जडानको काम भइरहेको छ ।

फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो । जडान खर्च पाथीभराका भत्तजन काठमाडौं बानेश्वर–१० का रञ्जना पाठकले ब्यहोरेको काफ्ले बताउँछन् ।

निर्देशक काफ्लेका अनुसार एउटाको लागत ७५ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय बनाइएका थिए ।

पानी नहुँदा फोहोर हुने भएकाले ती शौचालय टिकाउन नसकिएको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ००:००  १ : ३४ बजे