१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मन्दिर परिसर व्यापारिक प्रयोजनमा दिएपछि राप्रपाको आपत्ति



बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी नगर समितिले बिर्ता बजारकाे टहरामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई स्थानीय शिवालय मन्दिर परिसरमा व्यवस्थापन गर्ने बिर्तामोड नगरपालिकाकाे निर्णयप्रति असहमति जनाएकाे छ ।

नगरपालिका कार्यालयमा आज ज्ञापन पत्र बुझाउँदै राप्रपाले शिवालय मन्दिर परिसर अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि अनुमति दिइएकोप्रति आपत्ति प्रकट गरेको हो ।

राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले मन्दिर परिसरमा व्यापार व्यवसाय सञ्चालन हुँदा आउने भक्तजनलाई असजिलो हुने बताउनुभयो ।

‘मन्दिर परिसर फाेहाेर र अशान्त हुने भएकाले त्यस विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छौँ’, अध्यक्ष प्याकुरेलले भन्नुभयो। राप्रपाको ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेता शंकर रिजाल लगायत सहभागी हुनुहुन्थ्यो।

पत्र बुझाउनु अघि आफ्नो धारणा राख्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल।

यसअघि आइतबार मात्रै बिर्तामोड नगरपालिकाले व्यापारिक भवन निर्माणका लागि टहरामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई मन्दिर परिसरको जग्गामा अल्पकालिन रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले साना व्यवसायीलाई अल्पकालिन रुपमा मन्दिर परिसरको जग्गामा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उपप्रमुख संग्रौलाले साना व्यवसायीकाे हितलाई ध्यानमा राखेर व्यापारिक भवन बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।

नगरपालिकाको निर्णय सार्वजनिक भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले लिखित रूपमै त्यसप्रति असहमति प्रकट गरेको हो ।

राप्रपाले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

ज्ञापनपत्रमार्फत राप्रपाले बिर्तामोड नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गर्न पनि माग गरेको छ ।

नगर अध्यक्ष प्याकुरेलले सर्वसुलभ औषधि पसल स्थापनाका लागि पनि आफ्नो पार्टीले नगरपालिकाको ध्यानाकर्षण गराएको बताउनुभयो ‌।

सामुदायिक नगर अस्पतालबाट उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा अन्तर्गतको सेवा नियमित गर्न पनि राप्रपाले माग गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  ६ : ५७ बजे