१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

मेयर उपमेयरद्वारा बायोग्यास प्लान्टको अनुगमन, स्रोत व्यवस्थापनका विषयमा छलफल



झापा– फोहोरबाट बायोग्यास उत्पादन गर्ने अवधारणासहित झापाको कनकाई नगरपालिकामा निर्माणाधीन कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा आयोजनाका लागि दीगो आर्थिक स्रोत व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल सुरु भएको छ ।

कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेडमार्फत बायो ग्याँस प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा छलफल सुरु भएको हो । सहरी क्षेत्रबाट निस्किने फोहोर व्यवस्थापन गर्ने गरी आयोजनाको काम सुरु भएको थियो ।

फोहोर प्रशोधन गरी ग्याँस उत्पादन गर्ने र पाइप लाइनमार्फत घर–घरमा बितरण गर्ने योजनाका साथ अघि बढेको बायो ग्याँस प्लान्टको पछिल्लो अवस्थाका विषयमा शुक्रवार तीनवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले जानकारी लिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतहरु समेतको संलग्नतामा निर्माणाधीन आयोजनाको स्थलगत अध्ययन अनुगमन गरिएको छ । फोहोर व्यवस्थापनको दीगो उपाय स्वरुप बायो ग्याँस उत्पादनको अवधारणा अघि सारिएको आयोजनामा झण्डै १३ करोड रुपैयाँ खर्च भइसकेको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेडका सञ्चालक सुवास भट्टराईले बताउनु भयो ।

‘कोरोनाका कारण समयमा मेसिनरी सामान आयात गर्न नसक्दा आयोजनाको लागत बढन पुग्यो’, सञ्चालक भट्टराईले भन्नुभयो, ‘अब सरोकारवालाबीच छलफल सुरु भएको हामी छिट्टै निष्कर्षमा पुग्छौँ ।’

अनुगमनपछि आयोजना सम्पन्न गर्न साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा प्रारम्भिक छलफल सुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताउनु भयो ।

‘आयोजनाको काम अन्तिम चरणमा छ । चाहिने सबै सामान आइसकेको अवस्था छ । तर, अहिलको समस्या भनेको आर्थिक स्रोत व्यवस्थापनको देखियो’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।

१८ करोड रुपैयाँको लागतमा सम्पन्न हुने आयोजनाका लागि पाँच करोड रुपैयाँ बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत प्राप्त भएको छ ।

कनकाई नगरपालिकाले ६२ लाख रुपैयाँ उपलब्ध गराएको छ भने साझेदार संस्थाहरु बिर्तामोड र अर्जुनधाराले पनि आर्थिक दायित्व बहन गर्ने तयारी गरेका छन् ।

सर्वसाधारणले शेयरमार्फत दुई करोड भन्दाबढी रुपैयाँ जुटाइसकेका छन् । जनसहभागिताका आधारमा अगाडि बढाइएको यो परियोजनामा लगानी गर्न सर्वसाधारण पनि उत्साहित छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ००:००  १० : ३५ बजे