बिर्तामोडका तीन हजार किसानको तथ्याङ्क संकलन गरिँदै
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– बिर्तामोड नगरपालिकाले तीन हजार भन्दाबढी किसानको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा ३ र ७ नम्वर वडाका तीनहजार दुईसय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागेको हो ।
तथ्याङ्क संकलनपूर्व किसान सूचीकरणका लागि १० जना सहजकर्तालाई तालिम दिइएको छ । कृषि पशुपंक्षी तथा मत्स्य विकास शाखाले तालिममा सहभागी सहजकर्तालाई किसानको घर–घरमा खटाउन लागिएको जनाएको छ ।
कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले तालिममा सहभागी सहजकर्ताले कृषकको घरमा गएर तथ्याङ्क संकलन गर्ने बताउनु भयो । तथ्याङ्क संकलनसँगै सूचीकृत भएका कृषकलाई परिचय कार्ड वितरण गरी त्यसका आधारमा सेवा सुविधा उपलब्ध गराइनेछ ।
किसानको तह, लगानी, उत्पादन जस्ता विषयको वास्तविक तथ्याङ्क नहुँदा किसानका पक्षमा प्रभावकारी योजना बन्न सकिरहेका छैनन् । सेवा सुविधाको समान वितरण गर्ने उद्देश्यले सरकारले किसान सूचीकरण कार्यक्रम अघि सारेको हो ।
नगर प्रमुख पवित्रा महतरा प्रसाईले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने नीतिको खाँचो रहेको बताउनु भयो । उहाँले किसान सूचीकरणपछि सेवा सुविधा उपलब्ध गराउने काममा नगरपालिकाले सघाउने पनि उल्लेख गर्नुभयो ।
बिर्तामोडका यी दुई वडामा असार १५ सम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताउनु भयो ।
झापाको कमल र वुद्वशान्ति गाउँपालिकामा किसान सूचीकरणको काम सकिएको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुनेछ ।
सूचीकृत भएका किसानको छुट्टै बैंक खाता सञ्चालन गर्ने सरकारको तयारी छ । सूचीकृत किसानले गरिरहेको कृषि सम्बन्धी काम, जग्गा जमिनको अवस्था र लगानीको आधारमा सरकारले सहुलियत दिनेछ ।