१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

३० सेकेण्डमा मोटरसाइकल चोर्ने गिरोह प्रहरी फन्दामा




झापा– पूर्वी नेपालका जिल्लामा मोटरसाइकल चोरीमा संलग्न सङ्गठित एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

झापालाई केन्द्र बनाएर पूर्वका मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा चोरीका मोटरसाइकल ओसारपसार र बिक्री गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो।

दुई जना नाबालकलाई समेत चोरीमा प्रयोग गर्दै आएको गिरोहले लामो समयदेखि आफ्नो धन्दालाई जारी राखेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले बताउनु भयो ।

‘पहिले प्रहरी हिरासतमा बसेर निस्किएकाहरु पनि चोरीमा संलग्न भएको खुलेको छ’, डीएसपी कुँवरले भन्नुभयो ।

सप्तरी घर भई झापाको अर्जुनधारामा ग्यारेज सञ्चालन गर्दै आएका करण महमदको योजनामा चोरी भएका १२ वटा मोटरसाइकलसहित गिरोहका आठ सदस्य समातिएका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड–५ बस्ने १८ वर्षीय करण मण्डल, वडा नम्वर–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मियाँ, गौरीगञ्ज–५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ श्रेष्ठ छन् ।

प्रहरीले पक्राउ परेका बालकको नाम भने खुलाएको छैन् । प्रहरीका अनुसार पक्राउ परेकाले वरपरको वातावरण हेरेर ३० सेकेन्डमा मोटरसाइकल चोरी गर्न सक्ने डेमो देखिएको छ ।

पछिल्लो समय राति १२ देखि ४ बजेको बीचमा मोटरसाइकल हराइरहेका छन् । दिउँसो चोरी हुने गरेको अवस्थामा फेरबदल गर्दै गिरोहले राति आफ्नो सक्रियता बढाएको डीएसपी कुँवरले बताउनु भयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार ००:००  ८ : ११ बजे