२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

बिर्तामोड सातैदिन खुला राख्न व्यवसायी सहमत



सुब्रत न्यौपाने बिर्तामोड झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई सातै दिन खुला राख्ने विषयमा वस्तुगत व्यवसायिक संगठन सहमत भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा वस्तुगत संगठनको नेतृत्वले सातै दिन बजार खुला गर्ने विषयमा सहमति जनाएको हो ।

‘सातामा एक दिन बिदा चाहिन्छ । अनुकुलताका आधारमा व्यवसायीले बिदा उपयोग गर्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले भने, ‘अब यो वा त्यो दिन बन्द गरौँ भनेर अलमल गर्ने अवस्था छैन् ।’

सरकारले शनिवार र आइतवार बिदा दिन थालेपछि बिर्तामोडको व्यवसायिक क्षेत्र अफ्ठ्यारोमा छ । ‘यी दुई दिन त बिदा हुन्छ नै, सोमवार पनि साप्ताहिक बिदा पर्दा व्यवसायीले झन् ठूलो समस्या व्यहोर्नु परिरहेको छ’, नेपाल अलैँची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले भने, ‘बजार खोल्ने र बन्द गर्ने विषयलाई अब बाध्यकारी बनाइनु हुँदैन् ।’

यसअघि बिर्तामोड उद्योग वाणिज्य सङ्घको अग्रसरतामा सातामा एक दिन सोमवार बिर्तामोड बन्द हुँदै आएको छ । बन्दको अवज्ञा गर्दा पहिले पहिले कतिपय व्यवसायीले जरिवाना पनि तिरेका छन् । यद्यपि, अहिले सोमवार कि शनिबार बजार बन्द गर्ने भन्ने विषय सतहमा आइरहँदा बिर्तामोडका व्यवसायी सातै दिन बजार खोल्ने पक्षमा उभिएका हुन् ।

‘दुई दिने सरकारी बिदाको निर्णयपछि सातै दिन बजार खोल्नु पर्छ भन्ने हाम्रो निष्कर्ष हो’, मेची डिस्ट्रिव्युटर्स एशोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भने, ‘शनिवार वा सोमवार जुन दिन मन लाग्छ गरे हुन्छ । कर्मचारीको बिदा मिलाएर सातै दिन पनि व्यवसाय चलाउन सकिन्छ ।’

हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष मातृका कोइराला राज्यले दिएको बिदाको सुविधाको समान उपयोगिताका आधारमा शनिवार व्यवसाय बन्द गर्न सकिने बताउँछन् । ‘आफूलाई पायक पर्ने हिसावले व्यवसाय बन्द गरौँ’, अध्यक्ष कोइरालाले भने, ‘बजार बन्दको विषय अनिवार्य र बाध्यकारी हुनु हुँदैन् ।’

बिर्तामोडका साना तथा मझौला व्यवसायीले शनिवार बजार बन्द गर्ने विषयमा यसअघि असहमति जनाइसकेका छन् । ठूला व्यवसायी भने सोमवार खुला गरेर शनिवार बजार बन्द राख्नु पर्ने पक्षमा उभिदै आएका छन् ।

दुई दिने सरकारी बिदाको निर्णयले सातै दिन बजार खुला राख्नु पर्ने प्रारम्भिक निष्कर्षमा पुगेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष विवेक निरौलाले बताए । ‘सोमवारको बन्द भन्दा शनिवारको बन्द सहज हो’, अध्यक्ष निरौलाले भने, ‘हामी त सातै दिन बजार खुलोस् भन्ने चाहन्छौँ ।’

मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौला पनि बजार सातैदिन खुला राख्नु पर्नेमा जोड दिन्छन् । ‘एकथरि व्यवसायीले शनिवार र अर्काथरिले सोमवार बजार बन्द गर्ने परिस्थितिको विकल्प भनेको सातैदिन बजार खुला हुनु हो’, अध्यक्ष निरौलाले भने, ‘कर्मचारीलाई आलोपालो बिदा दिएर नियमित बजार खोल्नु पर्छ ।’

बजार खोल्ने र बन्द गर्ने विषयमा व्यवसायिक स्वतन्त्रता हुनुपर्ने अलैँची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाको धारणा छ । ‘बिर्तामोडमा व्यवसायिक स्वतन्त्रताको अभ्यास जरुरी छ’, महासचिव चिमरियाले भने, ‘साना ठूला सबै व्यवसायीको हित हुने गरीको समाधान निस्किन्छ जस्तो लाग्दैन् ।’

बजार बन्दको विषयमा एकरुपता हुने अवस्था नदेखिएको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष अग्रवालले बताए । उनी भन्छन्, ‘सातै दिन खुला राखौँ । बन्द गर्न चाहनेले शनिवार गर्दा राम्रो हुन्छ ।’

सिद्धार्थ बैकका प्रादेशिक प्रमुख सुवास श्रेष्ठ दुई दिनको सरकारी बिदा र त्यसपछि बिर्तामोडको साप्ताहिक बन्दले बैङ्किङ क्षेत्रमा ठूलो प्रभाव परेको बताउँछन् । उनले यो वा त्यो दिन भन्दा पनि आम व्यवसायीको अनुकूलताका आधारमा बजार बन्दको विषय टुङग्याइनु उपयुक्त हुने सुझाव दिए ।

अन्तरक्रियामा मार्वल टाइल्स संघ झापाका अध्यक्ष कुशल खतिवडा, पुस्तक व्यवसायी सङ्घका अध्यक्ष सञ्जय शर्मा सापकोटा, व्यवसायी शंकर ढुङ्गेल, यम बिमली, उपेन्द्र बानियाँ लगायतले शनिबार बजार बन्द गर्नु उपयुक्त हुने धारणा राखे । कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगरकी सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

रात्रीकालिन बजारको पक्षमा व्यवसायी
बिर्तामोडका व्यवसायी रात्रिकालिन बजार सञ्चालनको पक्षमा पनि उभिएका छन् । भरपर्दो सुरक्षा व्यवस्था र यातायातको सहजता भए राति अवेरसम्म व्यापार व्यवसाय चलाउन सकिने उनीहरुको धारणा छ ।

‘कम्तीमा राति १० बजेसम्म भए पनि बजार खोल्न सकिन्छ’, पूर्व केन्द्रीय सदस्य डालमियाले भने, ‘सबै मार्केट एकचोटि सञ्चालन नहोलान् । बिस्तारै सबैतिर सुरु गरौँ ।’

भद्रपुर विमानस्थलमा रात्रिकालिन उडान सुरु भएपछि बिर्तामोडको व्यवसायिक क्षेत्रले राति अवेरसम्म बजार खुला गर्ने विषयमा छलफल थालेको थियो । तर, यो विषयमा व्यवसायीको छाता संगठन बिर्तामोड उद्योग वाणिज्य संघ मौन प्राय छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ००:००  ७ : ०९ बजे