२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

सुक्ष्म ढंगले हारको कारण खोज्छौँ– अध्यक्ष भट्टराई



बिर्तामोड– नेकपा एमाले बिर्तामोड नगर कमिटीले आफ्नो पार्टीका तर्फबाट वडाध्यक्षका चारजना उमेद्वारले हार ब्यहोर्नु परेको विषयमा गम्भीर समीक्षा गर्ने भएको छ ।

अथक मेहनत र प्रयासका बाबजुत पनि उनीहरुलाई जिताउन नसकिएको भन्दै नगर कमिटीले हारको कारण खोज्ने भएको हो ।

नगर कमिटीका अध्यक्ष सुभाष भट्टराईले योग्य र सक्षम चारजना वडाध्यक्षका उम्मेदवार पराजित भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले हारको कारण खोजिने र त्यस विषयमा गम्भीर समीक्षा गरिने जानकारी दिए ।

नेकपा एमालेले उठाएका उम्मेदवारमध्ये बिर्तामोड–५ मा राजेन्द्रप्रसाद लिङ्देन, वडा नम्बर–६ मा बुद्धिप्रसाद भट्टराई, वडा नम्बर–८ मा विष्णुकुमार भट्टराई र वडा नम्बर–१० मा रिमानध्वज लोक्ताम पराजित भएका थिए ।

चुनावी प्रचार अभियान र पार्टी प्रतिनिधि परिचालन पछाडिको समग्र रिपोर्टका आधारमा ती वडामा हार नहुने निष्कर्ष एमालेको थियो ।

जित्ने विश्वस्त आधार भएका वडामा हार व्यहोर्नु परेकोप्रति नेता कार्यकर्ताले सामाजिक सञ्जालमा अनेकथरि आलोचना र टिप्पणी गरिरहेका छन् ।

‘हारका मुख्य कारणहरुको बारेमा पार्टीमा सुक्ष्म ढंगले समीक्षा गरिने प्रतिबद्धता व्यक्त गर्दछु’, शनिवार राति नगर कमिटी अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनको स्टाटसमा कमेन्ट गर्ने अधिकांश फेसबुक प्रयोगकर्ताले पार्टीका उमेद्वारप्रति घात गर्नेलाई कार्बाही गर्नु पर्ने धारणा राखेका छन् ।

सञ्जाल प्रयोगकर्ता गौरीशंकर गुप्ता कमेन्ट गर्दै लेख्छन, ‘अरु कुनै फेक्टर होइन । एमाले फेक्टर नै प्रमुख कारण हो । ८ सूर्य ७ छाप हुनु पर्नेमा, वडा अध्यक्ष बाहेकको ६ छाप वाला मतपत्र धेरै पाइयो ।’

अर्का प्रयोगकर्ता युवराज गौतमले गद्दारहरुमाथि कार्वाही गर्नुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, ‘चुनाव हराइसकेपछि मनोकामना पूरा भएको अभिव्यक्ति दिने लाल गद्दारलाई सम्बन्धित माथिल्लो कमिटीबाट यथाशीघ्र कारबाही होस्, नभए पार्टीमा ठूलो समस्या नआउला भन्न सकिने अवस्था छैन् ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ००:००  ८ : ३६ बजे