२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

झापाले पायो पहिलो महिला मेयर



बिर्तामोड– झापाले पहिलो महिला मेयरका रुपमा पवित्रा महतरा प्रसाईलाई पाएको छ । बिर्तामोड नगरपालिकामा उनले बिजय प्राप्त गरेकी हुन् ।

यसअघि उपप्रमुखका रुपमा विवादरहित पाँचवर्षे कार्यकाल बिताएकी प्रसाईले झापामा पहिलो महिला मेयर बन्ने अवसर पाएकी छन् ।

नेकपा एमालेकी जिल्ला कमिटी सदस्य प्रसाईले नेपाली कांग्रेसका उमेद्वार भोजराज सिटौलालाई फराकिलो मत अन्तरले पराजित गर्दै स्थानीय तहको कार्यकारी जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।

उनले सिटौलालाई ३,७५८ मतान्तरले हराएकी छन् । प्रसाईले १६,५२० मत प्राप्त गरिरहँदा सिटौलाले १२,७७२ मतमा चित्त बुझाउनु परेको छ ।

ताप्लेजुङको विकट थेचम्वु गाउँमा २०२८ साल चैत १ गते बाबु हरिलाल र आमा नरमाया महतराकी माइली छोरीको रुपमा जन्मिएकी पवित्रा सानै उमेरदेखि राजनीतिमा सक्रिय भएकी थिइन् ।

माओवादी द्वन्द्वकालमा एमालेका कतिपय जनवर्गीय सङ्गठन लाचार छायाँजस्ता भएका बेला अनेमसङ्घको अनारमनी गाउँ कमिटी संयोजकको जिम्मेवारी लिएर महिला दिदीबहिनीलाई सङ्गठित गर्दै हिँडेकी पवित्राले राजनीतिक यात्रामा एकपछि अर्काे फड्को मार्दै गएकी हुन् ।

‘आँटेपछि जिम्मेवारी पूरा गरेर मात्रै छोड्नु पर्छ भन्ने मेरो स्थापित मान्यता हो’, उनले भनिन्, ‘त्यही मान्यताले मलाई सधैँ सफलताको बाटोमा हिँड्न सिकाएको छ ।’ उनले मतदाताले गरेको विश्वासलाई सधैँ जोगाइ राख्ने बताएकी छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ००:००  १० : १५ बजे