१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बिर्तामोडमा एमालेको शानदार जीत : प्रमुखमा पवित्रा, उपप्रमुख भए नगेन्द्र



बिर्तामोड– नेकपा एमाले बिर्तामोड नगरपालिकामा यसअघिको विरासत जोगाउँदै नगर प्रमुख र उपप्रमुख जित्न सफल भएको छ । पाँच दलीय गठबन्धनका नाममा भएको चौतर्फी घेराबन्दीलाई चिर्दै एमालेले नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेको हो ।

झापाली राजनीतिको केन्द्र मानिने बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई निर्वाचित भएकी छन् । नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।

प्रसाईले १६५२० मत प्राप्त गरिरहँदा सिटौलाले १२७७२ मतमा चित्त बुझाउनु परेको छ । उपप्रमुखमा एमाले नेता नगेन्द्र संग्रौला निर्वाचित भएका छन् ।

नगर प्रमुख पवित्रा महतरा प्रसाई

विवादास्पद पृष्ठभूमि, पार्टीका नेता कार्यकर्ताको तीब्र असहयोग र अवसरवादी प्रवृत्ति सिटौलाको हारकाे मुख्य कारण रहेकाे स्वयम् काङ्ग्रेसका कार्यकर्ता बताउँछन्।

यसअघि तीन पटकसम्म वडाध्यक्ष हुँदा पर्याप्त काम गर्न नसकेको मतदाताको बुझाई पनि सिटौलाको हारका लागि पर्याप्त भएको छ । उनले तीनदशकदेखि नेतृत्व गर्दै आएको बिर्तामोड–३ मा यसपटक एमालेले प्यानसहित जीत हासिल गरेको छ ।

महिला जनप्रतिनिधिको नेतृत्वमा नगर सञ्चालन भएको हेर्न चाहने मतदाताको रोजाईमा परेकी पवित्रा यसअघि उपप्रमुख थिइन् । दोस्रो कार्यकालका लागि नगरपालिकामा उनको राजनीतिक यात्राको ढोका खुलेको हो ।

एमालेविरुद्ध भइरहेको घेराबन्दीलाई तोडेर जीत हासिल गर्ने सक्षम उमेद्वारका रुपमा पार्टी नगर कमिटीले उनको नाम पहिलो नम्वरमा सिफारिस गरेको थियो । त्यसका आधारमा उनी उमेद्वार छानिएकी थिइन् ।

उमेद्वार छनोटको प्राथमिक रणनीति अनुरुप पार्टीले गरेको आन्तरिक निर्वाचनमा पनि मेयरका आकांक्षी अन्य तीन पुरुष प्रतिस्पर्धी भन्दाबढी मत पवित्रालाई प्राप्त भएको थियो ।

गठबन्धन दलका सीपी कडरियालाई हराउँदै एमालेका स्थानीय प्रभावशाली नेता नगेन्द्र संग्रौला उपप्रमुखमा निर्वाचित भएका छन् ।

यसअघि बिर्तामोड–२ मा वडाध्यक्षका रुपमा प्रभावकारी कार्य सम्पादन गरेका संग्रौलालाई पार्टीले बलियो प्रतिस्पर्धीका रुपमा अगाडि सारेको थियो । उनले गठबन्धनका उमेद्वार कडरियालाई ७१३५ मतले हराएका हुन् ।

संग्रौलाले १५५८६ मत प्राप्त गरिरहँदा कडरियाले ८४५१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ००:००  १० : ४५ बजे