- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा गठबन्धन दलका साझा उमेद्वार राम थापा नगर प्रमुखमा निर्वाचित भएका छन् । नेकपा एमालेकी उमेद्वार गीता अधिकारीलाई ५५९ मतले पराजित गर्दै थापाले प्रमुखमा बाजी मारेका हुन् ।
दमक नगरपालिकामा यसअघि उपप्रमुख रहेकी अधिकारीलाई एमालेले पाँचदलीय गठबन्धनविरुद्ध बलियो प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उतारेको थियो ।
सत्तारुढ दलको प्रस्ताव स्वीकार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व मेयर रहिसकेका थापालाई उमेद्वार बनाएपछि दमकको राजनीतिक माहोल हेर्न लायक थियो ।
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनले केन्द्रीयस्तरमा भएको देशव्यापी सहमतिको अवधारणाविपरीत झापाको दमकमा राप्रपालाई एमालेविरुद्ध प्रयोग गर्ने रणनीति बनाउँदै थापालाई अघि सारेको थियो ।
नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको समेत साथ लिएर निर्वाचनमा होमिएका राप्रपा नेता थापाले १७,५२५ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेकी उमेद्वार अधिकारीले १६,९६६ मतमा चित्त बुझाउनु परेको छ ।
दमकमा एक्लै चुनावी प्रतिस्पर्धाका लागि तयार भएको नेकपा एमाले एकातिर र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिएर सत्तारुढ पाँचदलीय गठबन्धन अर्कातिर निर्वाचनमा होमिएका थिए ।
अविच्छिन्न तीनदशकसम्म प्राध्यापन पेशामा बिताएकी अधिकारी २०७४ को स्थानीय तह निर्वाचनमा शानदार मतका साथ उपप्रमुखमा बिजयी भएकी थिइन् ।
हारसँगै जनप्रतिनिधिका रुपमा आफ्नो कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने र दमकलाई आर्थिक सामाजिक विकासका दृष्टिले उत्कृष्ट नगर बनाउने अधिकारीको सपनामा पूर्णविराम लागेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा दमकमा दोस्रो राजनीतिक शक्तिका रुपमा स्थापित भएको राप्रपा सुरुदेखि काङ्ग्रेस र माओवादीको साथ पाएकाले चुनाव जितिन्छ भन्ने मानसिकतामा थियो ।
गठबन्धनको साख र विश्वास जोगाउँदै निर्वाचन जित्ने थापाको दाउ यसपटक पूरा भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा थापा एमाले उमेद्वार रोमनाथ ओलीसँग पराजित भएका थिए ।
दमकको आर्थिक सामाजिक विकासमा अरु कुनै राजनीतिक शक्ति निर्णायक हुन सक्दैन भन्ने नेकपा एमालेको बुझाई थियो । चौतर्फी आलोचनका बीच एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा अर्वाै रुपैयाँ लागतका विकास परियोजना सञ्चालनमा थिए ।
गठबन्धन दलका तर्फबाट उपप्रमुखमा रेगिना भट्टराई बिजयी भएकी छन् । उनले एमाले उमेद्वार अम्विका खनाललाई पराजित गरेकी हुन् । भट्टराईले १७०७२ मत प्राप्त गरिरहँदा खनालले १६,५७४ मत ल्याएका छन् ।