१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

यस्तो छ कनकाईको निर्वाचन नालीबेली



लक्ष्मी काफ्ले

झापामा १५ स्थानीय तह छन् । ती स्थानीय तहमा दलहरुले आफू अनुकूलताका आधारमा समीकरण, गठबन्धन र सहकार्य गरेका छन् । कतिपय समीकरण नेताको व्यक्तिगत स्वार्थका कारण भएको देखिन्छ भने कतिपयमा सिङ्गो पार्टीले अपनत्व लिएको देखिन्छ ।

बन्द निषेधित क्षेत्रमा रहेको झापाको कनकाई नगरपालिका यसपटक स्थानीय तह निर्वाचनमा निकै चर्चामा रह्यो । कनकाई नगरपालिकामा मेयर एमालेले जित्यो भने यसपटक उपमेयर काङ्ग्रेसले फुत्कायो । यसअघि दुवै पदमा एमाले बिजयी भएको थियो ।

जनताले पत्याएका पोखरेल

निर्वाचन आउन केही समय रहँदा कनकाईका मेयर राजेन्द्र पोखरेल एउटा विवादमा मुछिए । पाँच महिने कृषिसम्वन्धी तालिमका लागि कोरिया पठाएका युवाबाट नगरपालिकाले बढी रकम लिएको भन्दै काङ्ग्रेसले नारा लगायो ।

माओवादी पनि काङ्ग्रेसको पक्षमा उभिएर मेयरको राजीनामा माग्न तयार भयो । नगरपालिकाको नीतिगत निर्णय बाहेक पोखरेलको आफ्नो कुनै स्वार्थ र महत्वकांक्षा थिएन । उनी डगमगाएनन् ।

असल र इमान्दार जनप्रतिनिधिको छवि बनाएका पोखरेलले निर्वाचनको मुखमा आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमा खण्डन गरे । यो विवाद त्यत्तिकै सेलायो ।

विवादका बीच एमालेले विश्वास गरेर पोखरेललाई मेयर र उपमेयर रहिसकेकी मञ्जु प्रसाईलाई दोहोर्याएर टिकट दियो । एमाले नेता अग्नि खरेलले उनीहरुलाई दोहोर्याउनु पर्ने अडान राखे ।

खरेल यतिबेला एमाले झापाका इञ्चार्ज छन् । एमाले अध्यक्ष ओलीका विश्वासपात्र मध्येका खरेल र मेयर पोखरेलको राम्रो मित्रता छ ।

विपक्षीले लगाएका आरोपको पृष्ठभूमिबाट उठेर पोखरेल दोस्रो कार्यकालका लागि जन अनुमोदित भए । जनताको विश्वास र मतका अगाडि विपक्षी आरोपको जोर चलेन । जनताले उनलाई ‘क्लिनचिट’ दिए ।

खुश्बुका बाबु राप्रपा प्रवेश

मेयर–उपमेयरलाई पुनः दोहो¥याउने एमालेको निर्णयमा आपत्ति जनाउँदै चर्चित मोडल खुश्बु ओलीका बाबु श्यामसुन्दर ओलीले निर्वाचनको मुखमा एमाले परित्याग गरेको घोषणा गरे । उनी एमालेबाट मेयरका आकांक्षी थिए । एमाले त्यागेलगत्तै ओली राप्रपामा प्रवेश गरे ।

राप्रपाले ओलीलाई मेयरको टिकटसहित स्वागत ग¥यो । एमाले र राप्रपाको सबै मत आफैँलाई आउने विश्वास राखेर हौसिएका ओलीलाई जनताले अपेक्षाकृत रुपमा पत्याएनन् ।

यति भइरहँदा पनि उनले आफ्नै जोडबलमा २ हजार २ सय ५ मत ल्याउँदै चौथो बन्ने अवसर पाए । केही एमाले कार्यकर्ताको मत ओलीलाई गयो ।

राप्रपा झापाका अध्यक्ष केशव ओझा पनि कनकाई नगरका बासिन्दा हुन् । पार्टीको जिल्ला सचिव हुँदासम्म उनी एक सरकारी विद्यालयको हेडसर थिए ।

जिल्ला अध्यक्ष भएपछि चाहिँ उनले सरकारी जागिर छाडे । तर, जिल्ला अध्यक्षको नगरमा राप्रपाले एउटा वडा सदस्यसम्म पनि जित्न सकेन । राप्रपा र माओवादी केन्द्र यहाँ ‘निल’ भए ।

काङ्ग्रेसभित्र पनि टिकटमा रडाको

कनकाईमा मेयरको टिकटको विषयलाई लिएर काङ्ग्रेसमा झन् ठूलो रडाको मच्चियो । झापामा चलेका निर्माण व्यवसायी शेरबहादुर थापा कनकाईको मेयरका लागि तीव्र आकांक्षी थिए ।

लामो समयदेखि उनको सामाजिक अभियान कनकाईमा चलिरहेको थियो । कोरोना संक्रमणकालमा ज्यान धरापमा राखेर चामल र औषधि बोकेर धेरै जनताका घरमा थापा दौडिएको विषय प्रशंसा गर्न लायक थियो ।

कनकाईमा मतदाता नामावली भए पनि थापाको घर भने बिर्तामोडको अतिथि सदनदेखि उत्तर एमाले नेता मनकुमार गौतमको नजिकै छ । यसपटक उनी कनकाईको मेयरको टिकट पाउनेमा ढुक्क थिए । तर, अन्तिम समयमा उनलाई काङ्ग्रेसले टिकट दिएन ।

झापामा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाको आन्तरिक राजनीतिक द्वन्द्वबारे अधिकांशलाई थाहा छ । झापा काङ्ग्रेसको यो पुरानो रोग हो ।

मेयरको टिकटका आकांक्षी शेरबहादुर अहिलेका महामन्त्री विश्वप्रकाश निकट हुन् । शेरबहादुरले टिकट नपाउनुमा काङ्ग्रेस झापाका सभापति देउमान थेवेको हात रहेको कनकाई वृत्तमा सार्वजनिक चर्चा छ ।

पार्टी सभाप