२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कृषकको जीवनस्तर उकास्न एमाले उमेद्वार प्रतिवद्ध



बिर्तामोड– नेकपा एमालका तर्फबाट नगर प्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएकी छन् ।

चुनावी प्रचार अभियानका क्रममा आज वडा नम्बर–६ मा आयोजना गरिएको कोणसभालाई सम्वोधन गर्दै प्रसाईले पाँच वर्षको अवधिमा धेरै प्रगति भएको बताइन् । उनले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्ने उद्देश्यका साथ रिङ्रोडको अवधारणा ल्याएको बताइन् ।

नगरभित्र रहेका उद्यान पार्क, ऐतिहासिक स्थललाई पर्यटन र उद्यमशीलतासँग जोडेर अगाडि बढ्ने बताइन् । उम्मेदवार प्रसाईले पर्यटन र होटल मेनेजमेन्ट अध्ययनका लागि बिर्तामोडमा नाथुन कलेजको स्थापना भइसकेको बताइन् ।

नेकपा एमालेको सरकारले आयोग गठन गरेर जग्गा पहिचान गरी भूमिहीन सुकुम्वासीको लगत संकलन सुरु गरेको तर परमादेशी सरकारले यसलाई विघटन गरिदिएको उम्मेदवार प्रसाईले बताइन् । बिर्तामोडमा परेका राष्ट्रियस्तरका योजनासमेत परमादेशी सरकारले खारेज गरेको उनले जानकारी दिइन् ।

उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी पश्चात आफ्नो जिम्मेवारीमा रहने कामहरु इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्वता जनाए ।

वडा नम्बर–२ का निवर्तमान वडाध्यक्ष समेत रहेका संग्रौलाले यस अघिका अधुरा काम पूरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने बताए । कृषि र पशुपालनको क्षेत्रमा किसानलाई अनुदानको व्यवस्था अझै बढाएर लैजाने समेत बताए ।

नेकपा एमालेको तर्फबाट वडा नम्बर ६ को वडाध्यक्षमा बुद्विराम भट्टराई, खुल्ला सदस्यमा महिलातर्फ आइतमाया लिम्बु सेर्मा, दलित महिला सदस्यमा पदमकुमारी दियाली, सदस्यमा खेमनाथ अधिकारी र देवीप्रसाद नेपाल उम्मेदवार छन् ।

प्रचार प्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगर कमिटीले वडा नम्बर ६ को स्यालडाँगी, पिपलचोक, बुट्टाबारी लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको छ । प्रचार प्रसारका क्रममा टोल–टोलमा रहेका ज्येष्ठ नागरिकलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार ००:००  ४ : ३८ बजे