७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिर्तामोडमा एमाले उमेद्वारको प्रचार अभियान तीब्र



झापा– स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्र बनाएको छ ।

एमालेबाट बिर्तामोड नगरपालिकाको नगर प्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहितको टोलीले आज वडा नम्बर–९ का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो ।

उम्मेदवारहरुले वडा नम्बर–९ का टाँगाबारी, कञ्चन टोल, लखिबाडी, सतालसिंवाडी, केरकेरुवाडी, नारायणकृष्ण टोल, पिपल चोक र नडियाबाडीमा पुगेर सूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा मतदातालाई अवगत गराएको छ ।

नगर प्रमुखको उम्मेदवार प्रसाईले सबै जातजाति, वर्ग, समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी नेकपा एमाले रहेको धारणा राखेकी छन् । उनले भोलिका दिनमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने पनि बताइन् ।

उम्मेदवार प्रसाईले बिर्तामोड नगरभित्रका पुराना संस्कार, संस्कृति, इतिहास बोकेका सम्पदाको विकास गर्दै पर्यटनसँग जोडेर अघि बढ्ने दृढता व्यक्त गरिन् । उद्यमशीलता र महिलाको सीप विकासलाई प्राथमिकता दिएर रोजगारी सिर्जना गर्ने उनको धारणा छ ।

उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले नेकपा एमालेको सरकारले जनप्रिय कामहरु गरेको बताए । उनले विगतका अधुरा कामलाई अघि सार्दै नयाँ योजना अघि बढाउने बताए । वडा नम्बर–९ मा पाँच वर्षभित्रमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने संग्रौलाको प्रतिवद्धता छ ।

उनले कोलटोली विराटपोखर मार्ग र सहिद वृजुलाल मार्गलाई स्तरीय ग्राभेल गर्ने प्रतिवद्वता जनाए । बिर्तामोड–९ को वडाध्यक्षमा हरिप्रसाद चौलागाई, खुल्ला महिला सदस्यमा कल्पना राजवंशी, दलित महिलामा संगीता सिवा, सदस्यमा केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल उम्मेदवार छन् ।

राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा एमाले चुनाव प्रचारप्रसार समिति बिर्तामोडका संयोजक हरिचरण शिवाकोटीको संयोजकत्वमा सञ्चालित चुनावी अभियानको कोणसभामा नेकपा एमाले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की लगायतले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ००:००  ९ : ३९ बजे