१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

आईपीएलः दिल्लीमाथि चेन्नईको शानदार जीत



झापा– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ९१ रनको विशाल जीत निकालेको छ ।

२ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा समेटियो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । यस्तै शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र डेभिड वार्नर १९ रनमा आउट भए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीकार भारत ८, रोभम्यान पावेल ३, रिपल पटेल ६, अक्षर पटेल १, कुलदीप यादव ५ रनमा आउट भए ।

चेन्नईका मोईन अलीले सर्वाधिक ३ विकेट लिए । मुकेश चौधरी, सिमरजित सिंह र ड्वेन ब्राभोले समान २–२ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । चेन्नईका लागि ओपनर डेभन कन्वेले सर्वाधिक ८७ रन बनाए । यस्तै अर्का ओपनर ऋतुराज गायकवाडले ४१ रनको इनिङ्स खेले ।

पहिलो विकेटका लागि गायकवाड र कन्वेले ११ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यस्तै शिवम् दुवेले ३२ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनी ८ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे । अम्बाती रायडु ५, मोइन अली ९ र रोबिन उथप्पा शून्यमा आउट भए ।

दिल्लीका एनरिच नोर्कियाले ३ तथा खलिल अहमदले २ विकेट लिए । मिचेल मार्सको नाममा एक विकेट रह्यो ।

जीतका बाबजुत चेन्नईको आइपिएलमा प्ले अफ सम्भावना निकै कठिन छ । अब आइपिएलमा तीन खेल खेल्न बाँकी रहेको चेन्नईले सबै खेल जिते पनि १४ अंक मात्र हुनेछ । जुन प्लेअफमा पुग्न पर्याप्त हुन्न ।

चेन्नईले अब मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र राजस्थान रोयल्ससँग खेल्नेछ ।

दिल्लीको यो हारले प्लेअफ यात्रा कठिन बनेको छ । दिल्लीले अब प्लेअफमा स्थान बनाउन बाँकी तीनै खेलमा जीत हात पार्नुपर्ने हुन्छ । दिल्लीले अब राजस्थान रोयल्स, पन्जाब किंग्स र मुम्बईसँग खेल्नुपर्नेछ ।

जारी आइपिएलमा ११ औं चरणका अधिकांश खेल सकिँदा नवप्रवेशी लखनऊ १६ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट समान अंक जोडेको अर्को नवप्रवेशी गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

समान १४ अंक भएको बेंगलोर चौथो स्थानमा छ ।

समान १० अंक भएका दिल्ली, हैदराबाद र पन्जाब क्रमशः पाँचौ, छैठौं र सातौ स्थानमा छन् ।

११ खेलबाट चौथो जित निकालेको चेन्नई ८ अंकसहित आठौं स्थानमा छ । समान अंक भएको कोलकाता नाइट राइडर्स रनरेटमा पछि पर्दै नवौ स्थानमा झरेको छ । १० खेलमा २ जीत निकालेको मुम्बई ४ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ००:००  ८ : ३५ बजे