प्रतिदिन दैनिक १५ औँ वर्षमा

उद्योगको स्थिर लगानीमा सहुलियत आवश्यक

अर्जुनकुमार मैनाली महासचिव, बिर्तामोड उद्योग वाणिज्य संघ

अहिलेको अवस्थामा उद्योग होस् वा व्यापार एकदमै समस्या छ । बैङ्किङ क्षेत्रमा भएको नीतिगत परिवर्तनले उद्योगी व्यवसायी समस्यामा छन् । उद्योगी व्यवसायीले व्यापार व्यवसायका क्षेत्रमा भनेजति पूँजी परिचालन गर्न सकेका छैनन् । उत्पादन लागत बढेको छ ।

बढ्दो व्याजले खर्च धान्न नसक्ने परिस्थिति सिर्जना भएको छ । उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढ्दो अवस्थामा छ । बिक्री घटेको छ । थप दवावमा छन् उद्योगी व्यवसायी । नाफा भन्दा पनि उद्योग कसरी बचाउने भन्ने समस्या छ । बजारमा गएको सामानको पैसा उठ्न नसक्ने परिस्थिति छ ।

अर्थनीति परिवर्तन, परिमार्जन र समायोजनका नाममा उद्योग मैत्री हुन नसक्नु आजको सबैभन्दा ठूलो चुनौति हो । राजनीतिक दलका नेताको निजी स्वार्थका लागि पनि अर्थनीति संशोधन र फेरबदल गर्ने प्रवृत्ति नेपालमा हावी छ ।

राजनीतिक स्थायित्वको अभावमा पटक पटक परिवर्तन हुने नीतिले देशलाई आर्थिकरुपमा झन् कमजोर र धरासायी बनाएको छ । ठूलो अर्थ व्यवस्था भएको भारतले अर्थ नीतिलाई जसरी सन्तुलित बनाउन खोज्छ, ठीक विपरीत नेपाल चलेको छ । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करीले अर्काे चुनौति निम्त्याइरहेको छ ।

भन्सार कार्यालयमा हुने चलखेलका कारण पनि राजस्व संकलन प्रभावित भइरहेको छ । नेपालमा उत्पादित बस्तुको लागत मूल्य बढ्दा आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको छ । कर्मचारीतन्त्र राज्यप्रति पूर्ण बफादार र जवाफदेही नहुँदा त्यसको असर समग्र अर्थ व्यवस्थामा पर्छ ।

उत्पादन मैत्री वातावरण बनाउने इच्छाशक्ति नराख्ने, आयात विस्थापनमा उदासीनता देखाउने प्रवृत्ति कायम रहने हो भने अबका दिनमा नेपाल आर्थिकरुपमा टाट पल्टिने अवस्थामा नपुग्दा भन्न सकिन्न ।

राजस्व उठाएर देश सञ्चालन गर्ने सरकारी नीतिले मात्रै अब काम गर्दैन् । उत्पादनमूलक उद्योगमा राज्यको चासो र लगानी हुनु पर्छ । त्यस्ता उद्योगमा राज्य आफैँले लगानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आयात विस्थापन गर्ने विषयमा ध्यान गएको छैन् ।

वास्तवमा भन्ने हो भने आयात प्रतिस्थापन गर्ने सरकारी नीतिको खाँचो छ । नेपालमा उत्पादन हुने बस्तुको सम्भाव्यता अध्ययन गरी त्यसमा राज्यले लगानी बढाउने हो भने अर्बाै रुपैयाँ बिदेशिनबाट रोक्न सकिन्छ ।

उद्योग व्यवसायको बर्गीकरण गरी वस्तुनिष्ठ अध्ययन समाधानको एउटा उपाय हो । आयात घटाउने योजना बनाएर मात्र पुग्दैन, व्यवहारिक कार्यान्वयन पनि हुनुपर्छ ।

आयातित बस्तुको अवस्थाका आधारमा नेपालमा सम्भावित उत्पादनको अध्ययन गर्ने र त्यस अनुसारका काम अगाडि बढाउने हो भने असम्भव छैन् । आयातित बस्तुको विस्थापन एकै वर्षमा सम्भव नहोला, तर अवश्य सकिन्छ ।

समाधानको एउटा उपाय भनेको आयातित बस्तुको भन्सार मूल्यांकन बढाउनु पनि हो । उद्योग स्थापनाका लागि पूर्वाधार तयार गरिनु पर्छ । उद्योगको स्थिर लगानीमा राज्यले सहुलियत दिनुपर्छ ।

समग्र अर्थ व्यवस्थामा नीतिगत संशोधन र सुधार आजको पहिलो आवश्यकता हो । कच्चा पदार्थको आयातमा आधारित उद्योगलाई करमा छुट दिने र उत्पादित बस्तुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने हो भने अर्थ व्यवस्थामा सकारात्मक परिणाम आउँछ ।

राज्यले आयकरमा कम्तीमा पाँच वर्ष छुट दिनुपर्छ । रोजगारमूलक उद्योगको हकमा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाइनु पर्छ । यो अनिवार्य शर्त हो ।

सरकार आफैँले कच्चा पदार्थ उत्पादन गर्ने प्रकृतिका ठूला परियोजना सञ्चालन गर्नुपर्छ । अहिलेको अर्थनीति आयातमुखी छ । आन्तरिक उत्पादनमा आधारित अर्थनीति हुने हो भने अधिकांश समस्याको समाधान हुन्छ ।

आयकरमा योगदान गर्ने उद्योगलाई बर्गीकरण गरेर प्रोत्साहन दिने योजना ल्याउने हो भने उद्योगी व्यवसायी पनि उत्साहित हुन्छन् । अर्थतन्त्रमा सुधार ल्याउने हो भने विद्युत् उत्पादनमा जोड दिनुपर्छ ।

नेपालमा पानीबाट मात्र होइन, सौर्य र हावाबाट पनि उर्जा उत्पादनको सम्भावना छ । पर्यटन प्रवद्र्धनबाट पनि अर्थतन्त्रमा सुधार गर्न सकिन्छ । नेपालमा कृषिको विकासका लागि आधुनिक खेती प्रणाली र उपकरणको प्रयोग बढाउँदै लैजानु पर्छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *