६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बिर्तामोडलाई सुरक्षित र समृद्ध बनाउने मेयरका उमेद्वारको उद्घोष




बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने पनि बताए ।

संवाद समूह झापाले आइतबार विहान बिर्तामोडमा आयोजना गरेको छलफलमा सहभागी यस्तो धारणा राखेका हुन् । नेकपा एमालेबाट मेयर पदकी उम्मेदवार पवित्रा महताराले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् ।

उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर रात्रिकालिन व्यापार व्यवसाय निर्धक्क गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले कर प्रणालीलाई अझै पूर्णरुपमा व्यवस्थापन गरिनसकेकाले आगामी कार्यकालमा उद्योगी, व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने उनले बताइन ।

उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन् । उनले डोमालाल राजवंशी रंगशालालाई बृहत्तर रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाइन् ।

नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडवासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागू गर्ने बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहु“च र सेवा पुर्याउने बताए । उनले नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए ।

विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने सिटौलाले बताए । उनले कृषि, पर्यटनमा आम्दानीमूलक कार्यक्रम लागू गरेर नगरका प्रत्येक घरमा शुद्धखानेपानीको सुविधा पु¥याउने दाबी गरे

राप्रपाबाट मेयर पदका उम्मेदवार ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य एजेण्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने भएको बताए । उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहु“चमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागू गर्ने बताए ।

जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने बताए । उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहु“च हुने अवस्था सिर्जना गर्ने बताए ।

नेपाल परिवार दलबाट मेयरका उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ मैदानमा होमिएको बताए ।

आमूल परिवर्तन मसिहा पार्र्टीबाट मेयरका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमुना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए । उनले कृषिथोक बजारलाई आधुनिक बजारका रुपमा विकास गर्ने दाबी गरे ।

मौलिक जरोकिलो पार्र्टीबाट मेयरका उम्मेदवार प्रज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए । उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए ।

मेयर पदका स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए । उनले आफू मेयर पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमुना बनाउने बताए । उनले बिराटपोखरीलाई ‘सुन पोखरी’ को रुपमा विकास गर्ने बताए ।

मेयरका सबै उम्मेदवारले बैशाख ३० को निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, उत्साहजनक सहभागीतामा सम्पन्न गर्न तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्ण पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ८ : ४५ बजे