१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

निर्वाचन प्रक्रियाबारे काङ्ग्रेसको प्रशिक्षण




बिर्तामोड– नेपाल लोकतान्त्रिक कानुन ब्यवसायी संघ डिएलएले झापाका गाउँ÷नगर पालिका, प्रदेशसभा र क्षेत्रीय समितिका पदाधिकारीहरुलाई निर्वाचन पक्रिया र पद्धतिबारे प्रशिक्षण दिएको छ ।

निर्वाचन प्रारम्भदेखि मतगणना सम्पन्न हुँदासम्म खटिएका पार्टी प्रतिनिधिलाई मतदाताको मत बदर हुनबाट जोगाउने विषयमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव एवम् कार्यक्रमका प्रमुख अतिथि कृष्ण हुमागाईले १३१ वटै वडाका २८६ मतदानस्थल ७५५ मतदान केन्द्रमा गठबन्धन दलका भातृ संस्थाको संयुक्त स्वयम्सेवक परिचालन गर्न निर्देशन दिए ।

सचिव हुमागाईले गठबन्धन दलका उम्मेद्वार जिताउन नसके संविधान र लोकतन्त्रको रक्षा गर्ने गठबन्धनको लक्ष र उद्देश्य पूरा हुन नसक्ने भन्दै राजनीतिक सहमतिको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरे ।

डिएलए झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीले सबै मतदान केन्द्रमा खटिएका मतदानस्थल र मतगणनामा खटिएका प्रतिनिधिलाई निर्वाचन प्रक्रिया, पद्धति र नियमको विषयमा स्थानीय स्तरमा प्रशिक्षित गराउन सुझाव दिए ।

कार्यक्रममा सचिव लक्ष्मी शिवाकोटी, भीमप्रसाद बराल, हरि अधिकारी, लगायतले मतदाता र मतपत्रको सुरक्षा, मतगणना विधि, शिलबन्दी र मुचुल्का तयारी लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  ६ : ३६ बजे