- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
निर्मल भट्टराई
अध्यक्ष, नेपाल अलैँची व्यवसायी महासंघ
अलैँची नेपालको प्रमुख कृषिजन्य उत्पादन हो । पूर्व मेचीदेखि पश्चिमका ४३ जिल्लामा अलैँची खेती विस्तार भएको छ । १२ हजार हेक्टर भन्दाबढी क्षेत्रफलमा अलैँची उत्पादन हुन्छ । अलैँची खेतीमा एकलाख भन्दाबढी किसान र १० हजारको हाराहारीमा व्यवसायी संलग्न छन् ।
नेपालमा छवटा प्रजातिका अलैँची उत्पादन भइरहेका छन् । अलैँचीले खोल्साको कालो सुनको उपमा पाएको छ । अलैँचीको व्यवसायिक खेती विस्तार भए पनि यसवर्ष उत्पादन घटेको छ । अलैँची उत्पादनमा गिरावट आउनुको मुख्य कारण मौसम हो ।
कतिपय जिल्लामा पर्याप्त पानी अभावमा अलैँची उत्पादन हुन सकेन् । सुख्खा लागेपछि यसको उत्पादन घट्छ । धेरै पानी भयो भने पनि अलैँची उत्पादन कम हुन्छ ।
अघिल्लो वर्षको तुलनामा अलैँचीको उत्पादन २० देखि २५ प्रतिशतसम्म घटेको छ । भदौदेखि अलैँची उत्पादन हुन थाल्छ । कात्तिक मंसिरसम्म बजारमा आइपुग्छ ।
नेपालमा मात्र होइन, भारत र भुटानमा पनि अलैँचीको उत्पादन घटेको छ । उत्पादन घटेपछि मूल्य बढ्नु स्वभाविक हो ।अलैँची टिप्ने सिजनमा यसपटक धेरै वर्षा भयो । त्यसको असरले उत्पादन घटेको अनुमान गरेका छौँ । समयमा प्रशोधन हुन नपाएपछि समस्या भयो । यसवर्ष सुरु सिजनमा अलैँचीको भाउ प्रतिमन ५० हजार पुगेको थियो ।
उत्पादन घटेपछि मूल्यमा पनि बृद्धि भयो । सिजनमा मूल्य बढेपछि किसानले पनि अलैँची बेच्न चाहेनन् । आफैँसँग स्टक राखेर किसान थप मूल्यको पर्खाइमा रहे ।
व्यवसायीलाई बढी मूल्यमा अलैँची बेच्न पाए हुन्थ्यो भन्ने लाग्यो । व्यवसायीले आफूसँग आइसकेको अलैँची बेच्न आनाकानी गरे । भारतीय व्यवसायीले मागे पनि तत्काल दिएनन् । तर, सोचे जस्तो भएन । विस्तारै अलैँचीको मूल्य ओरालो लाग्यो ।
अहिले प्रतिमन अलैँचीको भाउ ४० हजार छ । किसान र व्यवसायीसँग गरेर झण्डै ३५ हजार बोरा अलैँची स्टक छ । नेपालको उत्पादन सरदर ९० हजार बोरा हो । नेपालमा पाँच हजार मेट्रिक टनको हाराहारीमा अलैँची उत्पादन हुन्छ ।
नेपालमा उत्पादित कृषिजन्य उत्पादनमध्ये अलैँचीले सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्छ । अघिल्लो वर्ष मात्रै सात अर्ब २० करोड रुपैयाँ बरावरको अलैँची निर्यात भएको थियो ।
चैत मसान्तसम्मको आँकडालाई हेर्ने हो भने अहिलेसम्म चार अर्ब रुपैयाँको हाराहारीमा अलैँची निर्यात भएको छ । किसानले मूल्य उच्च पाउने आशामा अहिले पनि अलैँची बेच्न चाहेका छैनन् ।
नेपालबाट अलैँची निर्यात गर्दा व्यवसायीले प्रयोगशाला जाँचमा सधैँ समस्या भोग्नु पर्छ । नेपालमा क्वारेन्टाइन जाँचको व्यवस्था छैन् । पश्चिम बंगालको कोलकातामा प्रयोगशाला जाँच गरेपछि मात्रै निर्यात अनुमति छ । भारतले एकपटक नमुना परीक्षण गरेपछि तीन महिनासम्म निर्यात गर्न दिन्छ ।
निर्यातअघि नमुना परीक्षण गर्दा कम्तीमा चारदिन काँकडभिट्टा नाकामा अलैँची लोड भएका मालवाहक रोकिन्छन् । यसले निर्यात लागत पनि बढाउँदै आएको छ । अलैँची निर्यातमा भारतको भर पर्नुपर्ने बाध्यता नेपाली व्यवसायीका लागि सबैभन्दा चुनौतिपूर्ण विषय हो ।
मुख्य कुरा अलैँचीको बजारीकरणमा सरकारको चासो जान जरुरी छ । भारतबाहेक अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली उत्पादन लैजान सकिने अवस्था आयो भने बढ्दो व्यापार घाटा कम गर्न सकिन्छ ।
माग उच्च हुँदा भारत र भुटानको उत्पादनले मात्रै धान्दैन । किनभने ६० प्रतिशत उत्पादनको हिस्सा नेपालले ओगटेको छ । अलैँचीको व्यवसायिक विकास, प्रवद्र्धन र बजारीकरणमा सरकारी लगानी बढ्न सके यसको भविष्य उज्ज्वल छ ।
अलैँचीलाई प्रशोधन गरेर विदेश निर्यात गर्ने गरी नेपालमा पहिलोपटक आठ करोड रुपैयाँको लगानीमा एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज सञ्चालनमा आएको छ ।
उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने सरकारी नीति बनाउन सके यसले आर्थिक विकास र समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । (कुराकानीमा आधारित)