१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

यस्तो छ नेपालमा आउन लागेको विद्युतीय गाडी



झापा– चौधरी ग्रुपले पहिलोपटक विद्युतीय गाडीको व्यवसाय सुरु गर्दैछ ।

चर्चित व्यावसायिक घरानीया सीजीले चिनियाँ ब्रान्ड ‘नेटा’को विद्युतीय कार भित्र्याउन लागेको हो ।

यसअघि ग्रुपकै अरुण चौधरीले अटो व्यवसाय गर्दै आएका छन् । अब भने विनोद चौधरी पनि अटो व्यवसायमा लागेका हुन् ।

नेपालमा विद्युतीय गाडीको बजार बढ्दै जाँदा चौधरी ग्रुपले विद्युतीय गाडी बिक्री गर्न थालेको छ । चौधरी ग्रुपका डाइरेक्टर निर्वाण चौधरीले सीजी मोटरले विद्युतीय गाडी ल्याउन लागेको जानकारी दिए ।

ग्रुपले अहिले नेटा भी मोडलको गाडी नेपाल ल्याउँदै छ । नेटा भीमा एआई भ्वाइस कन्ट्रोल सिस्टम छ । गाडीमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फरमेसन डिस्प्ले छ । गाडीको अघिल्लो भागमा विश्वचर्चित टेस्लाको लुक्स (स्वरुप) देखिन्छ ।

गाडी २ वटा सेगमेन्टमा उत्पादन भइरहेको छ । गाडीमा ४० किलोवाटको मोटर र ३१.१८ किलोवाट आवरको ब्याट्री छ । एक पटकको चार्जमा ३०१ किमिसम्म गुड्नसक्ने यो गाडीले अधिकतम १७५ एनएम टर्क जेनेरेट गर्छ ।

लामो रेञ्जका मोडलमा ३८.५४ किलोवाट आवर ब्याट्री प्याक छ भने मोटर ५५ किलोवाटको छ । यसले एकपटकको चार्जमा ४०१ किमिसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । गाडीमा फास्ट चार्जरबाट आधा घण्टामा ८० प्रतिशत बढी चार्ज हुने कम्पनीले उल्लेख गरेको छ ।

गाडीको स्पिड १०० किमि प्रतिघण्टा छ । गाडीको दुवै साइडमा चार्जिङ पोर्ट छ । एउटा साइडमा फास्ट चार्जिङ पोर्ट र एउटामा नर्मल चार्जिङ पोर्ट रहेको छ ।

गाडीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ । यसमा कम्फर्टको लागि सेन्ट्रल लक, रिमोट लक, कि–लेस स्टार्ट, कि–लेस इन्ट्री सिस्टम छ । डाइभिङ सपोर्टिङमा रियर भ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ, एबीएस र इबीडी ब्रेकिङ सिस्टम छ । गाडीमा सुरक्षाको लागि इलेक्ट्रोनिक पार्किङ सिस्टम र अटोमेटिक अटोहोल्ड रहेको छ ।

हालोजेन बिम, अटोमेटिक हेडलाइट, डेटाइम रनिङ लाइट रहेको गाडीमा भ्वाइस कन्ट्रोल, सेन्सर एलसीडी स्क्रिन, ब्लुटुथजस्ता इन्फोटेनमेन्ट फिचर छन् । सेफ्टी फिचरमा ध्यान दिइएको गाडीमा ड्राइभर र प्यासेन्जर दुवैतर्फ एयरब्याग छ ।

गाडीको लम्बाइ ४ हजार ७० एमएम, चौडाइ १६९० एमए र उचाइ १५५० एमएम छ। गाडीमा १४६ एमएम ग्राउन्ड क्लियरेन्स छ भने २४२० एमएम ह्विलबेस छ ।

चिनियाँ कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल को.लिमिटेडको ईभी ब्रान्ड हो नेटा । होजोन अटो २०१४ मा स्थापना रिसर्च एन्ड डेभलप्मेन्ट सुरु गरेको थियो । कम्पनीले २०१८ मा नेटा ब्रान्ड ल्याएको जानकारी गराएको थियो । २०१८ नोभेम्बरमा नेटा एन०१ लञ्च गरेको थियो ।

मार्च २०१९ मा बेइजिङमा डिजाइन सेन्टर खोल्यो । अप्रिलमा भएको सांघाई अटो शोमा युरेका ०२ र नेटा यु लञ्च गरेको थियो । २०२० नोभेम्बरमा नेटा भी औपचारिक रुपमा लञ्च गरेको थियो । २०२१ मा नेटा यु प्रो लञ्च गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  १२ : १५ बजे