२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

उद्यमशीलता र रोजगारी सिर्जना गर्न एमालेका उमेद्वार प्रतिवद्ध



बिर्तामोड–नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसँगै उद्यमशीलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताएकी छन् ।

स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी कोणसभालाई सम्वोधन गर्दै उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् ।

उनले व्यवसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रवद्र्धनका योजनालाई पनि अघि बढाइने बताइन् । कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि सबै ठाउँमा विद्युतीय तारबार लगाउने बताए ।

देउनीय खोला नदी नियन्त्रण गर्न गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाए । कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडकसहित कम्तीमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने, ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने बताए ।

एमालेले सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रको रुपमा संरक्षण गर्ने, अग्निपथ निर्माण गर्ने, सहिद नेत्र पार्कलाई पर्यटकियस्थलका रुपमा विकास गर्ने, कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नति गर्ने लगायतका महत्वपूर्ण योजनालाई अघि सारेको छ ।

कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले सम्वोधन गरेका थिए । शुक्रवार वडा नम्बर ७ का सिताराम टोल, मिलडाँडा, मियावाडी, गरामनी, भुसावाडी लगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ८ : ०१ बजे