१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

यस्तो आयो अफ्ताव आलमबारे सर्वोच्चको फैसला



झापा– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम थुनामै रहने भएका छन् ।

सर्वोच्च अदालतले पनि उनलाई मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको हो ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भएको हो ।

सुनुवाइपछि आदेश जारी गर्दै आलतमलाई थुनामुक्त गर्न नमिल्ने जनाएको हो ।

नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए ।

आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ ।

आलमलाई तीन वटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ । बम बिस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो ।

मुद्दाको अन्तिम फैसला बाँकी नै छ । फैसला नहुन्जेल उनी कारागारमै रहने निश्चित भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ३ : ३० बजे