८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राजनीतिको रंगमञ्चमा रमाएका राहुल



जसोतसो व्यापारिक सहरको विरासत जोगाइरहेको बिर्तामोड । त्यही विरासतको पृष्ठभूमिमा जन्मिएर हुर्कीबढी गरेको मारवाडी समुदायको एउटा युवा राहुलकुमार शर्मा । हो, राहुललाई नचिन्ने कम छन् । स्थानीयदेखि केन्द्रसम्म एमाले नेताको नजरमा छन् राहुल । एमालेबाट वडाध्यक्षका दावेदार उनलाई विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि नचिन्ने कुरै भएन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्वर–४ बाट सदस्य पदमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भइरहँदा राहुलको चर्चा स्थानीय राजनीतिमा थप चुलिएको थियो । जनप्रतिनिधिका रुपमा बिर्तामोड नगरपालिकामा तय भएको राहुलको राजनीतिक यात्रा वर्तमानमा फराकिलो भएको छ । राजनीतिको रंगमञ्चमा आशालाग्दो एउटा युवा प्रतिभाका रुपमा राहुल आफ्ना पाइलाको गति बढाउँदैछन् ।

वडा सदस्यमा बिजयी भएपछि जनस्तरको सेवामा राहुलले जुन योगदान गरे, त्यसले उनको आगामी राजनीतिक यात्राको ढोका खोलिदिएको छ । इमान्दारिताको कसीमा कुनै दाग नलागेका राहुल जनसेवाको त्यही पृष्ठभूमिबाट बिर्तामोडको राजनीतिमा उदाउन खोजिरहेका छन् । सहरबासी मतदाताको आकाङ्क्षाका युवा साक्षी हुन् राहुल । जसले व्यवसायिक क्षेत्रमा फड्को मारेको बिगतको बिर्तामोड र अहिलेको स्थितिका विषयमा पर्याप्त जानकारी राखेका छन् ।

मारवाडी समुदायका ३३ वर्षीय यी युवाको आलो जोश वडाबासी मतदाताको नजरभन्दा बाहिर छैन् । बाबु सन्तोष शर्मा र आमा सन्तोषदेवी शर्माको कान्छो छोराका रुपमा जन्मिएका राहुल यही माटोको सुगन्धले भिजेका छन् । राहुलको पुख्र्यौली वंश परम्पराको व्यवसायिक श्रृङ्खलामा २०३२ सालदेखि बिर्तामोडमा कलकत्ता मिष्ठान्न भण्डार सञ्चालनमा छ । त्यही कलकत्ता मिष्ठान्न भण्डारका कान्छा साझेदार राहुल बिर्तामोड–४ को वडाध्यक्षका उमेद्वार छन् ।

राहुलका बाबु सन्तोषको स्वामित्वमा चलेको कलकत्ता मिष्ठान्न भण्डारलाई थाहा नपाउने र नजान्ने कोही छैनन् । बरु मिठाई र समोसाको स्वादले उनीहरुलाई सधैँ कलकत्ता भण्डारप्रति आकर्षित गरिरहेकै छ ।२०५५ देखि सञ्चालनमा आएको पारिक फ्रुड प्रोडक्टका प्रोपाइटर राहुलको राजनीतिक यात्रा व्यवसायसँगै अगाडि बढेको हो । वाणिज्य शास्त्रमा स्नातक राहुल सामाजिक अभियानमा पनि सहभागी छन् । मारवाडी सेवा समितिको उपाध्यक्षका रुपमा उनको कार्यकाल चलिरहेको छ । मारवाडी युवा मञ्चका केन्द्रीय सदस्य राहुलको राजनीतिक यात्रा युवा संघबाट सुरु भएको थियो । उनी राष्ट्रिय युवा संघका वहालवाला केन्द्रीय सदस्य हुन् ।

कलेज पढ्दै गर्दा उनी २०६४ मा युवा संघको क्षेत्रीय सदस्य भए । क्रमश मेची अञ्चल कमिटी सदस्यबाट प्रदेश हुँदै केन्द्र सम्मको भूमिका र जिम्मेवारी उनलाई प्राप्त भयो । वडा सदस्य निर्वाचित भइरहँदा उनले मेलमिलाप केन्द्रको संयोजकका रुपमा पनि काम गर्ने मौका पाए । वडाका पाँचसय भन्दाबढी मुद्दा उनको अग्रसरतामा मिलाइयो ।

संवादका लागि तयार भइरहँदा राहुलले वडाध्यक्षमा आफ्नो जीतका केही आधार कारण प्रस्तुत गरेका छन् । १. वडामा जनप्रतिनिधिका रुपमा प्राप्त गरेको पाँचवर्षे अनुभव । २. नेकपा एमालेको बलियो संगठन संरचना र पार्टीप्रति वफादार तथा इमान्दार कार्यकर्ता पङ्तिको सहयोग । ३. जनस्तरमा पुगेर निरन्तर सेवा गर्न सक्ने व्यक्तिगत खुवी । ४. युवाको सोच र भावनालाई आत्मसात गरेर अगाडि बढ्न सक्ने सामथ्र्य । ५. वडालाई नमुना बनाउने दृढ इच्छाशक्ति र अवधारणा ।

यी आधार कारण बाहेक राहुल समयको बेगलाई चिन्न सक्ने परिस्थितिमा छन् । उनले बिर्तामोड वडाबासी मतदाताको भावनालाई सधैँ सम्मान गर्ने बताए । स्थानीय तह निर्वाचनको मैदानमा उभिरहँदा राहुलसँग दृढ आत्मविश्वास, मतदातासँगको भरोसा र स्वाभिमान छ । उनलाई बिजयको शुभकामना ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ८ : ५६ बजे