१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आईपीएलमा गुजरातको दोस्रो हार



झापा–  ईन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले दोस्रो हार बेहोरेको छ ।

मुम्बईमा मंगलबार राति भएको खेलमा पन्जाब किङ्ससँग गुजरात ८ विकेटले पराजित हुँदै जारी लिगको १० खेलबाट दोस्रो हार बेहोरेको हो ।

गुजरातले दिएको १४३ रनको मध्यम लक्ष्य पञ्जाबले १६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

पञ्जाबका लागि शिखर धवनले अर्धसतकीय इनिङ्स खेले । ५३ बल खेलेका धवन ८ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे । यस्तै भानुका रापाक्षेले २८ बलमा ४० रन बनाउँदा लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए ।

गुजरातका लागि मोहम्मद शामी र लक्की फर्गुसनले समान १–१ विकेट लिए ।

यसअघि डिवाई पाटिल स्पोर्ट एकेडेमी मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

उसका लागि साई सुदर्शनले अर्धसतकीय इनिङ् खेले । अविजित ६५ रन बनाउने क्रममा साईले ५० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११–११ रन जोडेका थिए । बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका लागि कागिशो रबाडाले सर्वाधिक ४ विकेट लिए । अर्सदीप सिंह, ऋषि धवन र लियाम लिभिङस्टोनले समान १–१ विकेट लिए ।

यो जितसँगै पन्जाब १० खेलबाट १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा दोस्रो हार भोगेको गुजरात १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

बुधबार पुणेमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंलोर र चेन्नई सुपर किङ्स भिड्नेछन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ००:००  ९ : ४७ बजे