२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

भद्रपुरका मेयरले दिए राजीनामा



झापा– भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

मेयर श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरेर आफूले सोही मितिबाट मेयरबाट राजीनामा दिएको जानकारी दिए । एमालेबाट मेयरमा निर्वाचित श्रेष्ठलाई पार्टीले यतिबेला भद्रपुर नगरको निर्वाचन प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

‘मैले २० दिन अघिदेखि नै नगरपालिकाद्वारा दिइले सेवा–सुविधाको प्रयोग गरेको छुइनँ,’ श्रेष्ठले भने, ‘पार्टीबाट उम्मेदवार बनेकाहरुलाई जिताउनुपर्ने अभियानमा लाग्नुपर्ने भएकाले निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ, त्यसैले कार्यकाल सकिनुअघि नै राजीनामा दिएको हुँ ।’

निर्वाचन आयोगद्वारा गत चैत ३ गते प्रकाशित राजपत्रको भाग ५ परिच्छेद ३ को दफा ५ (क) अनुसार स्थानीय तह निर्वाचनको प्रचार अभियानमा सहभागी हुन राजीनामा गर्नुपर्ने उल्लेख भए बमोजिम आफूले पदबाट राजीनामा दिएको उनले स्पष्ट पारे ।

आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यवादसमेत दिएका छन् । ‘सीमित स्रोत साधनका बीच असीमित विकासका काम गर्नुपर्ने भएकाले सोचेजस्तो गर्न सकिएन, पदबाट राजीनामा दिए पनि नगरको विकासको गतिविधिमा सक्रिय भएर लाग्नेछु,’ उनले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ९ : ४६ बजे