६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने घोषणा




बिर्तामोड– नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै ज्येष्ठ नागरिक भवन र चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छन् ।

स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड–२ मा आयोजना गरिएको कोण सभालाई सम्वोधन गर्दै नगर प्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् ।

उम्मेद्वार प्रसाईले महिला उद्यमशिलता, युवा स्वरोजगार, नगरपालिकाभित्र रिङ्ग रोडको अवधारणा लगायतका दर्जनौँ योजनाहरु रहेकोले फेरि पनि एमालेलाई जिताउन मतदातालाई आग्रह गरिन् ।

नेकपा एमाले विर्तामोडले सार्वजनिक गरेको प्रतिवद्धता पत्र हुवहु कार्यान्वयन गर्ने उम्मेदवार प्रसाईको प्रतिज्ञा छ । बिर्तामोड नगरपालिकाले विगत पाँच वर्षको अवधिमा ५०६ वटा विपन्न आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको र बाँकी रहेकालाई अब व्यवस्थापन गर्ने बताइन् ।

कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुख पदका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निशुल्क भनेर उल्लेख गरिएको र यसलाई कार्यान्वयन गर्ने बताए ।

वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार किशोर पौडेलले आफ्नो वडामा उत्तरबाट आउने पानीको प्रमुख समस्या रहेकोले यसको व्यवस्थापनमा आफु जुट्ने बताए । उनले सार्वजनिक जग्गाको पहिचान गरी बजार व्यवस्थापन गर्ने समेत बताए ।

नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । चुनाव प्रचार प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा सोमबार वडा नम्बर २ को बालुवाटार, चारपाने चोक, त्रिशुली चौक, कच्चुवारी, लालमाटी, चैतुवारी लगायतका क्षेत्रमा कोण सभाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ८ : ४१ बजे