१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

दुई दिने बिदाले उपचारमा सर्वसाधारणलाई सकस




काठमाडौँ– सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने देखिएको छ। यो निर्णय कार्यान्वयनसँगै जेठ १ पछि बहिरंग विभाग ओपीडी शनिबार र आइतबार बन्द हुनेछन्।

अन्नपूर्ण पोस्टमा दिनेश गौतम अगाडि लेख्छन्, – जसबाट सरकारी अस्पतालको आम्दानीमा कमी त आउनेछ नै, हातमुख जोर्ने समस्यामा रहेका बिरामीको उपचार खर्च पनि बढ्नेछ।

सरकारी अस्पतालका ओपीडी बन्द हुँदा हजारौं बिरामीले निजी स्वास्थ्य संस्थाबाट सेवा लिनुपर्ने बाध्यताले उपचार खर्चिलो हुने विज्ञहरू बताउँछन्। यो सम्भावित समस्यालाई गम्भीरतापूर्वक लिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी बताउँछन्।

सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने मन्त्रालयको दायित्व भएको बताउँछन् स्वास्थ्यसचिव डा. रोशन पोखरेल। ‘आइतबार पनि ओपीडी खोल्नुपर्छ। बिरामीले सेवा पाउनुपर्छ भन्ने सुझाव पनि आएको छ’, सचिव डा. पोखरेल भन्छन्, ‘दुई दिन ओपीडी बन्द हुँदा बिरामीलाई गाह्रो हुन्छ भन्ने कुरा आएको छ। हामी छलफलका क्रममा छौं।’

उनका अनुसार सरकारी अस्पतालका बहिरंग विभाग ओपीडी दुई दिन बन्द गर्ने वा सञ्चालन गर्ने विषयमा निर्णय भइसकेको छैन। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सरकारले शनिबार र आइतबार ओपीडी बन्द गर्दा सर्वसाधारणलाई मर्का पर्ने बताउँछन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ७ : ४९ बजे