१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

एमाले बिर्तामोडको घोषणा पत्रमा किसानका लागि के छ ?




बिर्तामोड–आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले दीर्घकालिन रणनीतिक महत्वका बहुआयामिक मुद्दा र सवाललाई समेटेर घोषणा पत्र जारी गरेको छ ।

नगर प्रमुख र उप्रप्रमुखसहित स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको कार्य सम्पादनलाई भरपर्दाे र प्रभावकारी बनाउन एमालेले जनमुखी अभियानसहितका महत्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको हो ।

एमालेले बिर्तामोड नगरको मेयरका रुपमा पवित्रा महतारा प्रसाईलाई उमेद्वार बनाएको छ । लामो राजनीतिक संघर्षबाट स्थानीय तहको जिम्मेवारी र भूमिकामा आएकी प्रसाई यसअघि उपप्रमुख थिइन् ।

उपप्रमुखका रुपमा नगेन्द्रप्रसाद सङ्ग्रौला उमेद्वार छन् । लामो समयदेखि एमालेको राजनीतिमा संलग्न सङ्ग्रौला इमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् ।

पवित्रा र नगेन्द्रसहितको नेतृत्व बिजयी गराउन के छ एमाले बिर्तामोडको घोषणा पत्रमा ? संक्षेपमा हामीले घोषणा पत्रमा भएका केही विषय, सवाल र प्राथमिकता उल्लेख गरेका छौँ ।
कृषितर्फ :
१.निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक पद्धतिमा रुपान्तरण गर्ने ।
२. तीनवटा चिस्यान केन्द्र बनाउने । माटो परीक्षण प्रयोगशाला र बीउको उमार शक्ति परीक्षण प्रयोगशाला स्थापना गर्ने ।
३. सामूहिक खेती प्रणाली अवलम्वन गर्न प्रेरित गर्ने । २००० विघामा सिञ्चाई सुविधा उपलब्ध गराउने । ५०० स्यालो ट्युवेल जडान गर्ने ।
४. एक समूह एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने । आलु, राजमा, सूर्यमुखी, तोरी, तरकारी लगायतका खेतीमा साझेदारी गर्ने ।
५. विषादी परीक्षण प्रयोगशालालाई थप प्रभावकारी बनाउन स्रोत साधन तथा जनशक्ति उपलब्ध गराउने ।
६.किसानले उत्पादन गरेका तरकारीको न्यूनतम् समर्थन मूल्य तोक्ने । किसानलाई पुरस्कृत गर्ने । गुणस्तरीय बीउ बीजन उपलब्ध गराउने ।
७. १ लाख ५० हजार अनुदान दिएर ५० ठाउँमा फ्रेस हाउ स्थापना गर्ने ।
८. १००० किसानलाई प्रोत्साहित गर्न २५००० देखि ३५००० सम्म अनुदान दिने ।
९. १००० किसानलाई मेसिनरी उपकरण र उन्नत जातका पशुचौपाया, उपलब्ध गराउने । पशु बीमा कार्यक्रम सञ्चालन गर्ने । गोठ सुधारमा सघाउने ।
यी बाहेक अरु धेरै कृषिसँग सम्वन्धित कार्यक्रम एमालेले आफ्नो प्रतिवद्धतापत्रमा समेटेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ००:००  ५ : २९ बजे