- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
प्रस्तुति : संगीता उप्रेती . पञ्चायती कालरात्रीका विरुद्ध नूतन र नवीन सपना हृदयभरि बोकेर बन्दुकको मोहरीका अगाडि उभिनसक्ने हिम्मत झापाका क्रान्तिकारीले गरेका थिए । २०२८ सालको किसान आन्दोलन वर्गसंघर्षको उच्चतम् रूप थियो । त्यो संघर्षको मुख्य पहलकर्ता र परिकल्पनाकार सहीद रामनाथ दाहाल थिए । उनै सहीद रामनाथकी छोरी हुन्, मञ्जु दाहाल ।
पिताको पथ पछ्याउँदै राजनीतिक र सामाजिक काममा सहभागी हुँदै जाँदा र कम्युनिष्ट पार्टीले देखाएको आदर्शमा जतिसुकै डरलाग्दा कठिनाइ आएपनि रत्तीभर पनि शिर नझुकाई अघि बढ्दै जाँदा उनी दोस्रो कार्यकालका लागि कनकाई नगरपालिकाको उपमेयरको उम्मेदवारका रूपमा खडा भएकी छन् ।
जनअभिमतका माध्यमबाट प्रतिनिधि चुनिएर मात्र आफूलाई श्रेष्ठ सावित गर्न सकिन्छ र कम्युनिष्टले जनताको आदेश अनुसार शासन गर्नुपर्छ भन्ने नेकपा एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको आलोकमा आज उनी फेरि परीक्षामा उभिएकी छन् । कनकाई नगरपालिका– ५ मा स्थायी बसोबास गर्ने मञ्जुले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २०७४ सालको चुनावमा ८ हजार ५ सय ७६ मतसहित विजय हासिल गरेकी थिइन् ।
पारिवारिक पृष्ठभूमि
२०१९ साल कात्तिक १२ गते तत्कालीन इवा गा.वि.स. वडा नं. ५ हाल आठराई गाउँपालिका ४, तेह्रथुममा बुबा रामनाथ दाहाल र आमा जानुका दाहालका सन्तानका रूपमा जन्मेकी मञ्जुले एसएलसी.सम्मको शिक्षा हासिल गरेकी छन् । २०४२ सालमा खड्गप्रसाद प्रसाईंसँग वैबाहिक सम्बन्ध गाँसेकी मञ्जुले सासु, ससुरा, जेठाजु, नन्द, देवरसहितको ठूलो परिवारसँग घुलमिल भएर आफ्नो पारिवारिक डुंगा अघि बढाएकी थिइन् । मञ्जु र खड्गका छोरा नवीन र छोरी नविना रहेका छन् ।
मञ्जुको परिवार भूमिगत अवस्थामा सेल्टरदाताको रुपमा आश्रय प्रदान गर्दै आएको परिवार हो । सहिद रामनाथ दाहालकी माइली छोरीको रुपमा राधिका नामले परिचित उनी जन्मनु भन्दा पहिलेदेखि नै उनको परिवार बामपन्थी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरिक थियो ।
संघर्षपूर्ण जीवनको रूपमा क्रान्तिकारी परिवारसँग रगतको नाता मात्र होइन, यो देशको मुक्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिद परिवारकी छोरी भएर अत्यन्तै कठोर, पञ्चायती शासकको आँखाको तारो भएर जीवनलाई अगाडि बढाउने क्रममा बैवाहिक जीवन पनि एक कम्युनिष्ट परिवारसँग भएकोमा उनी गौरव महसुस गर्छिन् । उनको वैवाहिक सम्बन्ध २०२८ सालको झापा विद्रोहसँग सामिप्य रहेको प्रसाईं परिवारसँग गाँसिएको थियो ।
राजनीतिक पृष्ठभूमि
मञ्जुको माइतीतर्फको परिवारको वातावरण नै राजनीतिक थियो । आफ्नो परिवारमा त्यति ठूलो घटना घट्दा पनि परिवारका कुनै पनि सदस्यहरू सहिदको आदर्शलाई तिलाञ्जलि दिएर पञ्चायती तानाशाही सत्ताका सामु झुकेनन् । यही आदर्श र विश्वासलाई अक्करिला र भीषण कठिनाइका दिनहरूमा पनि कम्युनिष्ट आस्था मुटुमा साँचेर अघि बढ्ने क्रममा मञ्जु २०४२ सालमा तत्कालीन नेकपा (माले) को सेल कमिटीमा आबद्ध भइन् । सेल कमिटीमा आबद्ध भएको छ वर्षपछि प्रजातन्त्रको पुनस्र्थापनासँगै २०४८ सालमा विधिवत पार्टी सदस्यता प्राप्त गरेकी हुन् ।
अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६२ साल (यसोदा लम्सालको कार्यकाल), अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६८ साल (इन्दिरा पकुवालको कार्यकाल), अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०७० साल (बिन्दा थापाको कार्यकाल), अखिल नेपाल महिला संघ कनकाई नगर कमिटी अध्यक्ष २०७१ साल, नेकपा (एमाले) सुरुङ्गा ६ नं. वडा कमिटी उपाध्यक्ष २०६८, नेकपा (एमाले) कनकाई नगर कमिटी सदस्य २०७१ साल (कोमल पन्तको कार्यकाल), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटी सदस्य २०७५ (रबिन्द्र लम्सालको कार्यकाल) लगायतका विविध जिम्मेवारीमा रहँदै पार्टीले दिएको काम गर्दै रहिन् ।
२०७४ साल असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले कनकाई नगरको उपमेयरको जिम्मेवारी पाइन् भने हाल उनी नेकपा एमाले झापा जिल्ला सदस्य तथा कनकाई नगर सहइञ्चार्जको जिम्मेवारीमा छन् ।
२०७४ सालमा उपमेयर बनेपछि
मञ्जु नगरपालिकामा उममेयरका रूपमा निर्वाचित भएर आएपछि नगरभित्रका महिलाको शिर माथि उठेको छ । स्थानीय सरकारको न्यायिक निकायको जिम्मेवारी पाएपछि मञ्जुको जीवनमा ठूलो परिवर्तन आएको छ । महिला हिंसा, वैदेशिक रोजगार, साँधसीमाना लगायतका मुद्दाहरूको सुनुवाइ गर्ने र सकेसम्म मुद्दाहरूलाई नगरस्तरमै समाधान गर्ने उनको प्रयत्न रह्यो र उनी सफल पनि भइन् ।
न्यायिक समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै मञ्जु भन्छिन्, ‘घरेलु मुद्दाको मुख्य कारण त वैदेशिक रोजगारी नै देख्छु । वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेबित्तिकै छाडेर जाने चलन छ । उहाँहरू नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएपछि नकारात्मक समस्या आउने गरेका छन् । श्रीमान्ले बाहिरबाट नियमित रूपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको पनि देखिएका छन् । वैदेशिक रोजगारीले विरक्तैलाग्दो बनाएको छ ।’
किन फेरि उम्मेदवारी ?
सहिदहरूले कल्पना गरेको आदर्शवादी सभ्य र समुन्नत नेपाली समाजको निर्माण गर्न त ती महान् सहिदहरू हिँडेको बाटोबाट अगाडि बढ्न जरुरी छ । उनीहरूले जस्तै त्याग र बलिदानको अझै पनि आवश्यक छ । गोहीका आँसु चुहाएर मुलुक बदलिदैन र देशले कोल्टे पनि फेर्दैन ।
सहिद परिवारबाट आउँदा कस्तो जिम्मेवारी हुनेरहेछ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म सहिद परिवारबाट यहाँसम्म आएकी हुँ भन्दा गौरव लाग्छ । शहीद परिवारको तर्फबाट जनप्रतिनिधि हुनुले मात्र आंकाक्षा पूरा हुँदैन । मैले केही कुरा आफैंसँग प्रण गरेकी छु । पद पाएँ भनेर खुशी हुने भन्दा पनि निमुखा जनताको हितमा केही गर्न भने त्यसमै म सन्तुष्ट हुनेछु । गरिब जनताको पक्षमा काम गर्न सकें भने नै सहिदका लागि मैले पनि योगदान दिएँ भन्ने महसुस गर्नेछु । अहिल्यैको स्थितिमा चाहिँ सहिदको सपना पूरा गरिसकेको छु जस्तो लाग्दैन ।’
नमुना नगर बनाउने सपना
कामले काम सिकाउँछ भनेझैं उनले न्यायिक समितिको प्रमुख, राजश्व परामर्श समितिको संयोजक भएर अनुभव सँगालेकी छन् । मञ्जु आफ्ना समस्त अनुभव, ज्ञान र कौशललाई प्रयोग गरी अधुरा काम पूरा गर्दै नगरवासीको सेवा गर्न चाहन्छिन् । भद्रता र सरलता उनका गहनाझैं लाग्छन् । प्रसाई शालीन, मृदुभाषी र मिलनसार नेतृ हुन् । बितेका ५ वर्षमा एक जनप्रतिनिधिका रूपमा उनमा कहिले पनि घमण्ड देखिएन ।
आफू राजनीतिक परिवारबाट आएकी र राजनीतिमै आफ्नो जीवन बिताउने इच्छा रहेको उनी बताउँछिन् । उनले कनकाई नगरका कार्यकर्ता र मतदातामाझ भरोसायुक्त छबि बनाएकी छन् । वास्तवमा नगरको नेतृत्व राजनीतिमा आबद्ध व्यक्तिले नै गर्ने हो भन्ने उनको धारणा छ ।
कतिपय प्रतिकूल अवस्थामा नगरको नेतृत्वले आँटिलो निर्णय गर्न सक्नुपर्ने भएकाले अन्य पृष्ठभूमिका मानिसमा अन्य राम्रा विशेषता भए पनि राजनीतिक सुझबुझको कमीका कारण निर्णय क्षमताको कमी हुने प्रसाईको धारणा छ । उनी भन्छिन्, ‘हिजो पनि म जनताकै वीचमा थिएँ, आज पनि जनतासँगै छु र भोलि पनि जनताकै माझमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ कनकाई नगरलाई मुलुकको एक उत्कृष्ट नमुना नगर बनाउने उनको भविष्यको सपना छ ।