काठमाडौँ– नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी–२० खेलमा वर्षा बाधक बनेको छ । जसका कारण दोस्रो टी–२० रद्द भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो ।
जिम्बावेले २ विकेटको क्षतिमा ४३ रन बनाएको स्थिति थियो । जिम्बावेका कुडजाइ माउन्जे २२ रन र रोए काइया १ रन बनाएर खेलिरहेका थिए ।
त्यसअघि इनोसेन्ट काइयालाई शून्यमा आउट भए । मारूमानी ११ बलमा २१ रन जोडेर आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी र करण केसीले १–१ विकेट लिए ।
यसअघि आइतबार भएको पहिलो टी–२० खेलमा जिम्बावे विजयी भएको थियो । जिम्बावेले नेपालमाथि ६ विकेटको सहज जीत हात पारेको थियो ।
सिरिजको अन्तिम खेल बुधाबार हुनेछ ।
त्यसपछि एकदिवसीय सिरिज हुनेछ । एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन् ।
नेपालले आईसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ‘ए’ टिमसँग तयारीस्वरुप खेल्न लागेको हो ।