झापा – एमालेका लागि दमक नगरपालिका खास महत्वको पालिका हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको दमकमा २०७४ सालको निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित अधिकांश वडामा जीत हासिल गरेको थियो ।
आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई आफ्नो त्यो साख जोगाउन सत्तारुढ गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
सत्तारुढ गठबन्धनले यो पालिकामा राप्रपासँग तालमेल गरेको छ । एमाले भने एक्लै चुनावी मैदानमा छ । यसपटक एमालेबाट मेयर पदमा गीता अधिकारी र उपमेयरमा अम्बिका अम्विका खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनले मेयरमा राप्रपालाई सघाएको छ । राप्रपाबाट राम थापा मेयरको उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसले गठबन्धनका तर्फबाट रेगिना भट्टराई प्रसाईंलाई उम्मेदवार बनाएको छ ।
यस्तो थियो ०७४ को परिणाम
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा वडा जितेको थियो । बाँकी दुईवटा वडामा राप्रपाले जितेको थियो । मेयरमा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए ।
तेस्रो स्थानमा माओवादीका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याउँदा कांग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५ सय ३९ मत ल्याएका थिए ।
सबै वडाको मत जोडेर हेर्दा दमकमा एमाले ११ हजार ८ सय ८४ सहित पहिलो, ६ हजार ५ सय ६० मतसहित कांग्रेस दोस्रो, ५ हजार ७ सय ७१ सहित राप्रपा तेस्रो र ४ हजार ५ सय १७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा छ ।
राप्रपा नै निर्णायक शक्ति
दमक नगरपालिकामा दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा नेकपा एमाले भारी देखिए पनि सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा राप्रपा निर्णायक शक्तिका रुपमा देखिन्छ ।
२०७४ को निर्वाचनमा १० वटा वडामा एमालेले कुल ११ हजार ८८४ मत ल्याएकोमा हाल पार्टी विभाजन भएका कारण सो मतमा केही धक्का लाग्ने निश्चित छ ।
यस्तो अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादीले अघिल्लो चुनावमा १० वटै वडामा हासिल गरेको कुल मत जोड्दा ११ हजार ४७७ हुन्छ ।
यस्तो अवस्थामा राप्रपाले एमाले वा गठबन्धनमध्ये जसलाई साथ दिन्छ, उसैले बाजी मार्ने अवस्था थियो । तर, राप्रपाले सत्तारुढ गठबन्धनसँग दमकमा तालमेल गरेपछि एमालेलाई थप चुनौती बढेको छ ।
अघिल्लो निर्वाचनमा राप्रपाले १० वटै वडामा गरी कुल ५ हजार ७७१ मत हासिल गरेको थियो । सत्तारुढ गठबन्धनको मात्र मतले दमकमा एमालेलाई टक्कर दिन कठिन देखिएपछि गठबन्धनले राप्रपालाई मेयर पद दिएर सारथि बनाएको छ ।
राप्रपालाई पनि एक्लै चुनाव जित्न कठिन थियो । राप्रपाले मेयर पदमा गठबन्धनको साथ लिने र उपमेयरमा गठबन्धनलाई सघाउने भएसँगै एमालेलाई पार्टी अध्यक्ष ओलीको गृहनगरमै साख जोगाउन कडा चुनौती सामना गर्नुपर्ने भएको हो ।
के भन्छन् मतदाता ?
केपी शर्मा ओलीकै छिमेकी नगेन्द्र पोखरेलले दमकमा यसपटक कडा प्रतिस्पर्धा हुने आँकलन गरेका छन् । गठबन्धन र एमालेबाट मजबुत उम्मेदवार भएको र समीकरण पनि जबर्जस्त भएका कारण अहिलेको चुनावमा कसले बाजी मार्छ भनेर किटान गर्न कठिन हुने उनको भनाइ छ ।
पोखरेलले एमाले विभाजन तथा एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा गरेका काम जनताले राम्रोसँग देख्न पाएको भन्दै अहिले २०७४ सालको जस्तो अवस्था नरहने बताए ।
ओलीको वडामा एमालेले वडाध्यक्ष पदमा इन्द्रबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । राम्रै काम गरेका कारण एमालेले गुरुङलाई दोस्रो कार्यकालका लागि पनि उम्मेदवार बनाएको हुन सक्ने स्थानीयको बुझाइ छ । तर पोखरेल र अधिकारी भने वडामा सडक र नालाको अवस्था हेरेर पनि मतदाताले मूल्यांकन गर्ने बताउँछन् ।
स्थानीय भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा गठबन्धन अलिक अगाडि देखिएको छ, वडाको हकमा । अब मेयर र उपमेयरको हकमा प्रतिस्पर्धा छ, अहिले सरसरर्ती हेर्दा एमाले भन्दा गठबन्धनभित्र घात प्रतिघात भएन भने एमालेलाई गाह्रै छ ।’
दमकमा राप्रपा संगठनात्मक रुपमा बलियो नभए पनि मेयरमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका राप्रपाकै राम थापाको व्यक्तित्वका कारण पनि मतदातामा धेरै प्रभाव पर्ने देखिन्छ ।