१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

राजु अर्याल सशस्त्रको आइजिपीमा नियुक्त



काठमाडौँ –  नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए ।

गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए । तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात सोमबारबाट अनिवार्य अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ ।

अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश–२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ ।

त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन् । सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ३ : १६ बजे