६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

क्रियाशील किशोर : वडादेखि नगरसम्म



राजनीतिमा संलग्न हुन उनको पारिवारिक पृष्ठभूमि पर्याप्त थियो । उनको मावलका हजुरबा रामनाथ दाहाल, जो नेपालको ऐतिहासिक राजनीतिक क्रान्ति झापा विद्रोहका अगुवा थिए । निरङ्कुश राज्य सत्ताको हुकुमी शासनविरुद्ध राजनीतिको मैदानमा उत्रिँदा रामनाथ मारिए । झापा इलामको सीमावर्ती सुखानीमा मारिने पाँच कम्युनिष्ट योद्धा मध्येका एक थिए उनी ।

मावली हजुरबाको ‘जनतामा समर्पित राजनीतिक जीवन’ले उनलाई समाज परिवर्तनको मूल प्रवाहमा लाग्न प्रेरित गरेको हो । त्यसो त उनकी आमा शान्ता पनि राजनीतिक ‘करियर’मा संघर्षशील महिला हुन् । २०४७ देखि अनेमसंघको सदस्य रहेकी शान्ता केहीवर्ष इजरायल बसेर फर्किएकी हुन् । हाल उनी २ नम्वर वडाको इन्चार्ज छिन् । लोपोन्मुख पञ्चेबाजाको संरक्षण अभियानमा पनि शान्ताको अग्रसरता छ ।

राजनीतिको रापले पनि होला, उनी खारिँदै गएका छन् । समाज परिवर्तनको प्रवाहमा विगुल फुक्न उनलाई आमाको राजनीतिक सक्रियताले पनि उत्साहित गरेको छ । उनी अर्थात झापा चारपानेको बेलडाँगीका किशोर पौडेल ४१, । तिनै पौडेल यतिबेला बिर्तामोड वडा नम्बर–२ को नेतृत्व गर्न खोजिरहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्यमा बिजयी भएका पौडेल यसपटक अध्यक्ष हुने कसरतमा छन् ।

जनताको सारो, गारो र अप्ठ्यारोका साक्षी हुन् किशोर । दिन होस वा रात, उनीहरुको सेवामा उनी दौडिन्छन् । कामले काम सिकाउने उनको मान्यता राजनीतिमा आउन चाहने युवाका लागि प्रेरणा हो । राजनीतिक संरचनाको तल्लो इकाइबाट माथि उठ्न चाहनेहरुका लागि किशोर प्रतिनिधि पात्र हुन्, जो सामाजिक अभियानमा आफूलाई समर्पित गर्दै अगाडि बढेका छन् ।

बाल कल्याण मावि चारपानेबाट २०५३ मा एलएलसी पास गरेपछि किशोर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गए । मीनभवन क्याम्पसमा भर्ना भएपछि उनले अनेरास्ववियूको सदस्यता लिए । आइकम सकेपछि २०५७ मा चिनियाँ परियोजनामा एक वर्ष जागिर खाए । २०५८ मा होटल म्यानेजमेन्ट पढ्न उनी सिंगापुर हानिए । २०६३ मा स्वदेश फर्किएपछि २०६७ सम्म उनी काठमाडौँमा बसे ।

काठमाडौँ बसाईपछि उनी झापा फर्किएका हुन् । त्यसयता स्थानीय राजनीतिमा उनको सक्रियता बढेको हो । जीवनयापनका लागि घरमा ‘रातो भाले रेष्टुरेष्ट’चलाउन थालेका पौडल २०७१ देखि पार्टी कमिटीमा निरन्तर क्रियाशील छन् । २०७१ देखि वडा कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट वडा सदस्यमा विजयी भए ।

किशोर अहिले एमाले नगर कमिटीका सदस्य छन् । उनको नेतृत्वमा स्थानीय बीर अमरसिंह माविले शैक्षिक क्षेत्रमा काँचुली फेर्दै गएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका हिसावले उनी शैक्षिक गुणस्तर सुधारको अभियानमा सक्रिय छन् । वडा सदस्य भइरहँदा उनले मेलमिलाप केन्द्रको संयोजक भएर पनि सशक्त भूमिका निर्वाह गरे । वडामा उनको सक्रियतामा ४४६ भन्दा बढी मुद्दाको छिनोफानो भयो ।

किशोर युवासँग धेरै नजिक छन् । बालबालिका उनका लागि झन् प्रिय लाग्छन् । सम्वादका लागि तयार भइरहँदा उनी नानीबाबुसँग फुटवल खेलिरहेका थिए । मोवाइलमा लत बसेका साना नानीहरुलाई भुल्याउन उनी आफैँ पनि उनीहरुसँग खेल्न जान्छन् । बृद्धबृद्धा, अपाङ्ग र दीनहीनका लागि पनि किशोर हाजिर छन् । लालमाटी युवा क्लवको अध्यक्ष भएर उनले युवामा सीप तथा क्षमताको विकासका लागि पनि योगदान गरेका छन् ।

माफियाले हडपेका सर्व साधारणका जग्गा फिर्ता गराउन पनि उनले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेलेका छन् । ‘पीडितको पक्षमा उभिएर काम गर्न पाउँदा ठूलो आनन्द लाग्छ । उनीहरुको न्याय पाउने आशा र भरोसाका केन्द्र भनेकै जनप्रतिनिधि हुन्’, किशोर भन्छन्, ‘आम मतदाताको विश्वासको जगमा मेरो राजनीतिक भविष्य अडेको छ ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ००:००  ७ : २२ बजे