- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
झापा–नेकपा एमालेले झापाको मेचीनगर नगरपालिकामा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीलाई मेयरको उमेद्वार बनाएको छ । प्रदेश सांसदको पाँचवर्षे कार्यकाल पूरा नहँुदै नेता बुढाथोकी नगरको मेयरका लागि पार्टी नेतृत्वको रोजाईमा परेका छन् ।
सांसद बुढाथोकी झापा क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । मेयर उपमेयरका आकांक्षी मध्येबाट लोकप्रिय उमेद्वार छान्न गरिएको एमालेको आन्तरिक मतदानमा पनि नेता कार्यकर्ताले बुढाथोकीको पक्षमा सर्वाधिक मत दिएपछि एमाले उनलाई उमेद्वार बनाउने निष्कर्षमा पुगेको थियो ।
‘गठबन्धन गरेर एमालेविरुद्ध मोर्चाबन्दीमा उत्रिएका दललाई चुनौति दिनसक्ने बलियो उमेद्वार उहाँ नै हो’, एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले भने, ‘स्थानीय आवश्यकताका आधारमा उहाँलाई प्रदेश सांसदबाट राजीनामा गराएर मेयर उठाएका हौँ । यो पार्टीको माग हो ।’
बुढाथोकीलाई प्रदेशबाट फिर्ता बोलाएर मेयरको उमेद्वार बनाउने तयारी भइरहँदा मेयरका आकांक्षी एमालेका स्थानीय नेता डिल्लीराम घिमिरेले सार्वजनिकरुपमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरिसकेका छन् । बुढाथोकीको उमेद्वारीविरुद्ध एमालेका नगर इन्चार्ज देवकुमार राईले स्वतन्त्रबाट मेयरमा उमेद्वार दर्ता गराएका छन् ।
मेयरमा आकांक्षा राखेकी मीना पोखरेललाई भने एमालेले उपमेयरको उमेद्वार बनाएको छ । उनी यसअघि पनि उपमेयर थिइन् । काङ्ग्रेस नेतृत्वको गठबन्धनसँग लड्न सजिलो हुने ठानेर एमालेले बुढाथोकीलाई प्रदेश सांसदबाट फिर्ता बोलाएको हो । ‘प्रदेशमा भन्दा स्थानीय क्षेत्रमा उहाँको भूमिका प्रभावकारी हुन्छ भन्ने हाम्रो ठहर हो’, नगर कमिटी अध्यक्ष पोखरेलले भने ।
स्थानीय क्षेत्रमा लोकप्रिय नेताको छवि बनाएका एमाले नेता बुढाथोकीसँग लड्न काङ्ग्रेसले इन्द्रकुमार बुढाथोकीलाई उमेद्वार बनाएको छ । मेयरका अर्का आकांक्षी काङ्ग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डेलाई प्रदेश समितिले दिएको टिकट खोसेर बुढाथोकी उमेद्वार बनेका हुन् ।
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई काङ्ग्रेस प्रदेश समितिले मेचीनगरमा मेयरको उमेद्वार बनाउने निर्णय गरेको थियो । दुई दिनअघिको उक्त निर्णयलाई काङ्ग्रेस केन्द्रीय संसदीय बोर्डले उल्ट्याउँदै पाण्डेको सट्टामा बुढाथोकीलाई मेचीनगरमा प्रमुखको उमेद्वार बनाएको हो ।
सभापति शेरबहादुर देउवाले पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काङ्ग्रेसको आधिकारिक उमेद्वार भएको प्रमाणित गर्दै निर्वाचन कार्यालयमा पत्र पठाएपछि यसले थप विवाद सिर्जना गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले हस्तक्षेप गर्दै आफूनिकटका बुढाथोकीलाई टिकट दिलाएको काङ्ग्रेस वृत्तमा चर्चा छ ।
टिकट खोसिएपछि पाण्डेले महामन्त्री शर्माप्रति कडा आक्रोस व्यक्त गरेका छन् । ‘पावर देखाएर ममाथि अन्याय गर्न खोजिएको छ’, उपसभापति पाण्डेले भने, ‘यसले काङ्ग्रेसलाई कहिल्यै फाइदा गर्दैन ।’ उनले पार्टीको निर्णय मान्न आफू बाध्य भएको बताए ।