१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

कनकाई : मेयर उपमेयरमा १६ जनाको उमेद्वारी



चन्द्र बस्नेत कनकाई । स्थानीय तहको निर्वाचनका लागि झापाको कनकाईमा दुई सय चार जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन अधिकृत दीपक कोइरालाका अनुसार मेयर उपमेयरमा आठ–आठ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी चयनमा दलहरुबीच सहमति नजुटेपछि प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी पनि परेको हो । यसले निर्वाचनको माहोल झन् तातिने भएको छ ।

एमालेका तर्फबाट राजेन्द्र पोखरेल मेयरका प्रत्यासी छन् । लोकप्रिय नेताको छवि बनाएका पोखरेललाई एमालेले दोस्रो कार्यकालका लागि टिकट दिएको हो । पोखरलसँग काङ्ग्रेस नेता रुद्र चिमरिया मेयरका लागि चुनावी मैदानमा छन् । यसअघि उनी वडाध्यक्ष थिए ।

काङ्ग्रेसका तर्फबाट मेयरका आकांक्षी शेरबहादुर थापाले स्वतन्त्रबाट उमेद्वारी दिएका छन् । पार्टीले नपत्याएपछि काङ्ग्रेस छोडेको घोषणा गरेर उनी चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट राजनीतिमा सक्रिय हुँदै गरेका थापालाई नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाले साथ दिएका छन् ।

एमालेतर्फ मेयरका अर्का आकांक्षी श्यामसुन्दर ओली स्वतन्त्रबाट उठेका छन् । पार्टीले टिकट नदिएपछि उनले राप्रपाको फेरो समातेर आफूलाई मेयरको सशक्त दावेदारका रुपमा उभ्याएका हुन् । टिकट पाउने शर्तमा ओली राप्रपा छिरेका थिए ।

विवेकशी साझा पार्टीका तर्फबाट मेयरका लागि भीमप्रसाद अधिकारीको मनोनयन दर्ता भएको छ । उनी तत्कालीन सुरुङ्गा गाविसका अध्यक्ष हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट बसन्त लिम्बू, मौलिक जरो किलो पार्टीबाट टंका उप्रेती र स्वतन्त्रका रुपमा कनकाई–२ निवासी देवीप्रसाद उप्रेतीले मेयरमा उमेद्वारी दिएका हुन् ।

उप मेयरका लागि एमालेका तर्फबाट मन्जु प्रसाई मैदानमा छिन् । यसअघि पनि उनले उपमेयरका रुपमा पाँचवर्षे कार्यकाल बिताएकी थिइन् । उनलाई दोस्रो पटक पनि पार्टीले टिकट दिएको हो ।

नेपाली काङ्ग्रेसबाट आशा शिवाकोटी, राप्रपाबाट सचित्रा खनाल, संघीय लोकतान्त्रिक मंचबाट गीता चेम्जोङ, उन्नत लोकतान्त्रिक पार्टीबाट विन्दीया बराइली, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाई, नेकपा एकीकृत समाजवादी पार्टीबाट अम्बिका महत उप्रेती, मौलिक जरो किलोबाट शान्ता दहालले उपमेयरमा उम्मेद्वारी दिएका छन् ।

कनकाईमा नौ वटा वडा छन् । त्यहाँ वडाध्यक्षमा ४३ जनाको उमेद्वारी दर्ता भएको छ । वडा सदस्यमा ७७, महिला सदस्यमा ३७ र दलित महिला सदस्यमा ३१ जनाको मनोनयन परेको छ । उम्मेद्वार चयनमा राजनीतिक दलहरु बीच सहमति नजुटेपछि गठबन्धनमा ब्रेक लागेको स्थानीय राजनीतिक दलका नेताले आरोप लगाएका छ्न् ।

जस अनुसार वडाध्यक्षका लागि वडा १ मा एमालेका तर्फबाट सुशील पोखरेल, नेपाली काङ्ग्रेसबाट सूर्यकुमार थापा, राप्रपाबाट विष्णुप्रसाद ओली, माओवादी केन्द्रबाट खगमाया चापागाईँले उम्मेद्वारी मनोनयन गराएका छन् ।

वडा नम्वर २ मा अध्यक्ष पदका लागि एमालेबाट बलराम राई, नेपाली कांग्रेसबाट अर्जुनकुमार राई, राप्रपाबाट सुरेन्द्र अधिकारी, माओवादी केन्द्रबाट मेघनाथ पाठक र स्वतन्त्र उम्मेद्वारका रुपमा पर्शुराम गिरीले उम्मेद्वारी मनोनयन गराएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार ००:००  ७ : ४७ बजे