२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

झापामा काङ्ग्रेस नीति : राप्रपा कतै शत्रु कतै मित्रु !



सुब्रत न्यौपाने झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको नेपाली काङ्ग्रेस झापाको अर्काे स्थानीय तह कचनकवल गाउँपालिकामा भने राप्रपाविरुद्ध एमालेसँग सहकार्य गर्न तयार भएको छ । स्थानीय आवश्यकताका आधारमा भन्दै काङ्ग्रेसले एउटै जिल्लाका दुई स्थानीय तहमा दोहोरो राजनीतिक भूमिका खेलेको हो ।

झापामा काङ्ग्रेस नीति कतै राप्रपा उपयोगमा देखिएको छ भने कतै निषेधको तहमा प्रकट भएको छ । एकातिर अध्यक्ष ओलीको गृहनगर दमकमा काङ्ग्रेसले एमालेविरुद्ध राप्रपालाई अगाडि सारेको छ भने अर्कातिर राप्रपाविरुद्ध एमालेसँग सहकार्य गरेको छ । दमकमा एमालेविरुद्ध राप्रपाका प्रभावशाली नेता राम थापालाई नगर प्रमुखका रुपमा अगाडि सारेको काङ्ग्रेसले उपप्रमुख आफैँले राखेको छ ।

एमालेबाट थापासँग प्राध्यापन पृष्ठभूमि भएकी प्रभावशाली महिला नेतृ गीता अधिकारी चुनावी मैदानमा उत्रिएकी छन् । यसअघि अधिकारी उपप्रमुख थिइन् । एमालेले उपप्रमुखमा अम्विका खनाललाई उमेद्वार बनाएको छ । काङ्ग्रेसका तर्फबाट उपप्रमुखको उमेद्वार रेगिना भट्टराईलाई बनाइएको छ ।

जिल्ला सभापति देउमान थेवेले गठबन्धन दलसँगै दमकमा राप्रपासँग आफ्नो पार्टीले चुनावी तालमेल गरेको बताए । तर, नेकपा समाजवादी भने झापामा गठबन्धनबाट बाहिरिसकेको छ । तीन दिनअघि समाजवादीले झापाका १५ वटै स्थानीय तहमा एकल उमेद्वारी दिने घोषणा गरेको थियो ।

नेपालको सबैभन्दा होचो दक्षिणी झापाको आदिवासी बाहुल्य कचनकवल गाउँपालिकामा राप्रपाको बलियो पकड छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाध्यक्ष र सदस्य जितेको थियो ।

राप्रपाको बढ्दो प्रभाव र फैलिँदो साङ्गठनिक संरचनालाई चुनौति दिँदै कचनकवलमा काङ्ग्रेस र एमाले स्थानीय तहमा भागवण्डा गरेर उमेद्वारी दिन तयार भएका हुन् । एमाले सांसद बसन्त बानियाँ कचनकवलमा राप्रपाविरुद्ध उभिन काङ्ग्रेस एमाले सहमत भएको बताउँछन् । राप्रपाले अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार दोहोर्याउँदै अञ्जार आलम र नीमसरी राजवंशीलाई उमेद्वार बनाएको छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पछाडि पार्दै अघिल्लो निर्वाचनमा आलम पाँचहजार आठ सय १६ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा बिजयी भएका थिए । नेपाली काङ्ग्रेसकी गीता ओडारीलाई सात सय मतअन्तरले पछाडि पार्दै उपाध्यक्षमा निर्वाचित राजवंशीले पाँच हजार सातसय ९२ मत प्राप्त गरेकी थिइन् ।

जनाधार बलियो भएको राप्रपासँग एक्ला एक्लै लड्दा जीत हासिल गर्न नसकिने निष्कर्षसहित काङ्ग्रेस एमालेलाई उपाध्यक्ष दिएर चुनावी सहकार्यका लागि तयार भएको हो । एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला कचनकवलमा भने काङ्ग्रेस र एमालेले राप्रपाविरुद्ध गठबन्धन गरेका हुन् ।

काङ्ग्रेसका तर्फबाट अघिल्लो पटक अध्यक्षमा पराजित भएका राजवंशी फेरि उमेद्वार बनेका छन् भने एमालेले उपाध्यक्षका रुपमा नवराज भट्टराईलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ००:००  ९ : ४५ बजे