- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
झापा–झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरेको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आफ्नै स्वामित्वमा रहने गरी कनकाईले झापामा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
कोरोना संक्रमणको तेस्रो लहर चलिरहँदा कनकाईले अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको थियो । नगर प्रमुख राजेन्द्र पोखरेल आफैँले प्लान्ट स्थापनाका लागि १० लाख रुपैयाँ दिएपछि नगरबासीले स्वतस्फूर्त सहयोग रकम उपलब्ध गराएका थिए ।
समुदाय तहबाट प्राप्त भएको सहयोग र नगरपालिकाको आफ्नै लगानीमा अक्सिजन प्लान्ट स्थापना भएको नगर प्रमुख पोखरेलले बताए ।
‘कोरोना संक्रमणका बेला अक्सिजन नपाउँदा धेरै ठूलो समस्या व्यहोर्नु परेको थियो’, नगर प्रमुख पोखरेलले भने, ‘अब आफ्नै प्लान्ट छ, भनेका बेला चाहिएजति अक्सिजन उपलब्ध हुन्छ ।’
कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा अक्सिजन प्लान्ट राखिएको छ । प्लान्टबाट अक्सिजन उत्पादन हुन थालिसकेको नगर प्रमुख पोखरेल बताउँछन् ।
देश विदेशमा रहेका नगरबासीले अक्सिजन प्लान्ट स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन् । नगरपालिका आफैँले प्लान्टका लागि एक करोड १४ लाख रुपैयाँ खर्चिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेका अनुसार ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैयाँमा प्लान्ट उपलब्ध गराएको हो ।

अक्सिजन प्लान्टका सबै सामग्री टर्कीबाट ल्याइएका हुन् । अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपियन ब्राण्ड रोजिएको नगर प्रमुख पोखरेलले बताए ।
प्लान्ट सेटअपका लागि थप १४ लाख ६ हजार ४८५ रुपैयाँ खर्च लागेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
प्लान्टबाट दैनिक ४० लिटर क्षमताका १६० वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्ले बताउँछन् ।
एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिन्छ । ‘एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिन्छ’, इन्जिनियर वाग्लेले भने ।