१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

बिर्तामोड नगरपालिकाद्वारा पाँचवर्षे कार्यकालको प्रगति सार्वजनिक



बिर्तामोड– आफ्नो कार्यकालको अन्त्यतिर आइरहँदा बिर्तामोड नगरपालिकाले पाँच वर्षको अवधिमा जनप्रतिनिधिमार्फत् सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ ।

आज बिहान कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको पहिलो निर्वाचनपछि सञ्चालन भएका जन लक्षित कार्यक्रमको फेहरिस्त नगरपालिकाले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले आफ्नो पाँच वर्षे कार्यकालमा बिर्तामोडको विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेको दाबी गरे । उनले जनताको आर्थिक सामाजिक जीवनस्तर उकास्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कानुन अभावमा सुरुमा स्थानीय तह सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै नगर प्रमुख सिवाकाेटीले अब सहज हुँदै गएको बताए। उनले राम्रा कुरा खाेजेर लेखिदिन पत्रकारलाई आग्रह गरे।

कार्यक्रममा पाँचबर्षे कार्यकालको उपलब्धि समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख पवित्रा महतरा प्रसाईले आफुले जिम्मेवारी सम्हालेका विषयगत कार्यालयमार्फत महत्वपूर्ण काम भएको बताइन्।

शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएकाे उनले उल्लेख गरिन् । उनले आफू नेतृत्वको न्यायिक समितिले पनि उत्कृष्ट काम गरेकाे बताइन् ।

कार्यक्रममा सहभागी पत्रकार र जनप्रतिनिधिलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाेदकुमार न्याैपानेले स्वागत गरेका छन्।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ००:००  ७ : ५३ बजे