१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बिर्तामोडको मेयरका लागि पवित्रालाई कार्यकर्ताले दिए सर्वाधिक मतभार



झापा– बिर्तामोड नगरको मेयरमा पार्टीगत तहबाट पवित्रा महतरा प्रसाईलाई सर्वाधिक मतभार प्राप्त भएको छ । कार्यकर्ताले दिने मतभारका आधारमा उमेद्वार सिफारिस गर्ने एमालेको पछिल्लो पार्टी नीति छ ।

एमालेको सोही नीतिका आधारमा उमेद्वार सिफारिसका लागि हिजो मतदान भएको थियो । मतदानमा कार्यकर्ताले प्रसाईलाई सर्वाधिक मतभार दिएका छन् । दिउँसो २.३० बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । ४२६ जना मतदाता रहेको नगर कमिटीको विस्तारित बैठकमा ३८० मत खसेको थियो ।

पहिलो नम्वरमा मेयरको सशक्त दावेदारका रुपमा प्रसाईले मतभार पाएकी हुन् । प्रसाईले बहालवाला उपप्रमुखका रुपमा नगर प्रमुखमा गरेको दावेदारीलाई कार्यकर्ताको मतले स्वभाविकरुपमा लिँदै थप बल प्रदान गरेको छ ।

बढी मतभार ल्याउने आकांक्षीले पार्टीले तोकेको मापदण्ड पूरा गरेको देखिए टिकटका लागि प्राथमिकता पाउने एमालेले जनाउँदै आएको छ ।

आकांक्षीलाई कार्यकर्ताले दिने मतभारका आधारमा नगर कमिटीले जिल्ला कमिटीलाई उमेद्वारको नाम सिफारिस गर्ने र जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरी टुङ्गो लगाउने नीति एमालेले लिएको छ ।

हिजो भएको मतदानमा पवित्रापछि एकराज कार्कीलाई कार्यकर्ताले दोस्रो मतभार दिएका छन् । कार्की बहालबाला प्रदेश सांसद हुन् । उनी प्रदेश सांसदबाट राजीनामा दिएर बिर्तामोडको मेयर उठ्ने मनस्थितिमा छन् ।

कार्यकर्ताले दिएको मत भारका आधारमा एमाले नेता नगेन्द्र संग्रौला तेस्रो भएका छन् । उनी बिर्तामोड वडा नम्वर–२ का अध्यक्ष हुन् । नगर प्रमुखमा आफूले टिकट पाउनु पर्ने उनको लविङ छ ।

पाँच जना आकांक्षीमध्ये उपप्रमुखमा देवराज कार्कीलाई कार्यकर्ताले सर्वाधिक मत दिएका छन् । निजामति सेवामा लामो समय बिताएका कार्की कार्यकालको अन्त्यतिर राजीनामा दिएर राजनीतिमा बढी सक्रिय देखिएका छन् । स्पष्ट वक्ता कार्की एमालेको जिल्ला कमिटी सदस्य हुन् ।

कार्यकर्ताले उपप्रमुखका रुपमा भीमा शिवाकोटीलाई दोस्रो मतभार दिएका छन् । पार्टी गतिविधि र सञ्चार क्षेत्रमा सक्रिय सिवाकोटी अघिल्लो पटक पनि दावेदारका रुपमा चर्चामा थिइन् ।

कार्यकर्ताले दिएको मतभारका आधारमा गणेश पोखरेल तेस्रो नम्वरमा छन् । एमाले राजनीतिमा सक्रिय पोखरेल पत्रकारिता क्षेत्रका चर्चित व्यक्तित्व हुन् । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष पोखरेल प्रेस काउन्सिलका बहालवाला सदस्य हुन् । उपप्रमुखमा आफूले टिकट पाउनु पर्ने भन्दै उनले जिल्लादेखि केन्द्रसम्म लविङ गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ९ : ११ बजे