- घिसिङलाई हटाउने निर्णयप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
- कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णय
- एक्सेल विकास बैंकको साधारण सभा : वित्तीय दायरा फराकिलो बनाउने बाटो खुला
- पत्रकार महासंघद्वारा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बस्नेतको निधनमा दुःख व्यक्त
- राप्रपाभित्र आन्दोलनको नेतृत्वको विषयमा विवाद
बिर्तामोड-बाल क्लवका पदाधिकारीले झापाका स्थानीय तह बालमैत्री हुन नसक्नुको कारण के हाे भनेर जिल्लाको राजनीतिक नेतृत्वलाई प्रश्न गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा दलहरुलाई बाल क्लब र तिनका पदाधिकारीले यस्तो प्रश्न राखेका हुन् ।
प्रदेश १ काे पहिलो बालमैत्री नगर भद्रपुरकी अध्यक्ष भावना पाेखरेलले बालबालिकालाई भाेलिका कर्णधार भन्नु भन्दा आजका साझेदार मान्न राजनीतिक दलहरु किन तयार नभएका हुन् भनेर सोधिन् ।
प्रहरीका सामुन्ने बालिकामाथि कुटपिट हुँदा पनि राजनीतिक दलको संरक्षण र हस्तक्षेपका कारण न्याय पाउन तीन महिना सम्म कुर्नुपरेको अध्यक्ष पोखरेलले सुनाइन् ।
अध्यक्ष पोखरेलले झापामा बाल संरक्षण गृह स्थापना गर्न माग गरिन् । उनले सबै स्थानीय तहमा बालमैत्री शाैचालय र धारा हुनुपर्नेमा जोड दिइन् ।
कनकाई बाल क्लवका अध्यक्ष अभिषेक मिश्रले बालबालिकाको भाेट आउँदैन भनेर राजनीतिक दलले हेला गर्ने गरेकाे बताए।
सरकारी कार्यालयमा जाँदा पनि बालबालिकाले घण्टाैँसम्म उभिनु पर्ने बाध्यता रहेको उनले सुनाए । बालबालिकाले आयोजना गरेका मिटिङ बैठक र कार्यक्रमलाई राजनीतिक दलको नेतृत्वले महत्व नदिएकोप्रति उनले दुखेसो व्यक्त गरे ।
शैशव मञ्चका अध्यक्ष टीकाराम बाँस्ताेला सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षाको अवधारणा अघि सारे पनि झापामा लागू हुन नसकेको बताउँछन् ।
अध्यक्ष बाँस्तोलाले झापाका दुई वटा स्थानीय तहले निःशुल्क शिक्षाको अवधारणा लागू गरेपनि बाँकी स्थानीय तहले किन गर्न नसकेका हुन् भनी राजनीतिक दलहरुलाई प्रश्न गरे ।
प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि. र बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी दलहरूको प्रतिबद्धता खोजेका हुन् ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सदस्य देवराज कार्कीले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए।
‘बालबालिकालाई शिरमा राखेर पार्टीले नीति बनाउनुपर्छ’ कार्कीले भने, ‘उनीहरुकाे सुन्दर भविष्यका लागि एमाले सचेत छ।’

नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मीले समाजमा बालबालिकाको वस्तुस्थिति बुझेर नीति बनाउने बताए। ‘सन्ततिको भविष्यसँग सबै कुरा जाेडिएकाे छ’, अध्यक्ष रेग्मीले भने, ‘बालमैत्री शासन बनाउन हामी लाग्छौँ ।’
नेकपा माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्यले समाजकाे बनाेट अनुसार बाल अधिकारका सबाल फरक-फरक हुने बताए। उनले राजनीतिक उद्देश्यका कुनै कार्यक्रममा बालबालिकालाई सहभागी नगराउने बताए।
नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवेले सबै स्थानीय तहलाई बालमैत्री बनाउनु पर्ने बताउँदै यसमा काङ्ग्रेस प्रतिवद्ध रहेको बताए। ‘घाेषणापत्रमा उल्लेख गरेका विषय पूरा भएको छ कि छैन्, त्यसकाे पनि समीक्षा गर्न तयार छाैँ ।’
मञ्चका अध्यक्ष सराेज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि. का तर्फबाट दीपक पाण्डेले सञ्चालन गरेका थिए ।