१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

झापासहित पूर्वमा इन्धन बिक्री बन्द



झापा– नेपाल आयल निगमले कमिसन नबढाएको विरोधमा उत्रिएका पेट्रोलियम व्यवसायीले पूर्वमा इन्धनको बिक्रीवितरण बन्द गरेका छन् । व्यवसायीको आन्दोलन सुरु भएपछि झापासहित पूर्वी नेपालका जिल्लामा इन्धन अभाव हुन थालेको छ ।

पेट्रोल तथा डिजेलको बिक्रीवापत पेट्रोलियम व्यवसायीले ३ दशमलव ९५ प्रतिशत कमिसन पाउँदै आएका छन् । इन्धनको मूल्य बढे पनि कमिसन दर पुरानै कायम गरिँदा आयल निगमप्रति व्यवसायीको असन्तुष्टि चुलिएको हो ।

लगातार घाटामा गएको जनाउँदै नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीलाई दिँदै आएको कमिसन बढाउन नसक्ने जनाउँदै आएको छ ।

लगानी बढे पनि कमिसन नबढेपछि पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङका ६१ वटा पेट्रोल पम्पले इन्धनको बिक्री रोकेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले बताए ।

पूर्वमा यी चार जिल्लामा भारतको पश्चिम बंगालबाट इन्धन आपूर्ति हुँदै आएको छ । पेट्रोलियम व्यवसायीले राखेका मागका विषयमा निगम जानकार रहेको र समस्या समाधानका लागि केन्द्रबाट पहल भइरहेको आयल निगमको चारआली डिपोका प्रमुख भीम विश्वकर्मा बताउँछन् ।

पेट्रोलियम ऐन तत्काल लागु गर्नुपर्ने, ढुवानी सेवामा सुधार गर्नुपर्ने, पेट्रोलियम बिक्रेताले पाउँदै आएको कमिसन बढाउनुपर्ने लगायतका ६ बूँदे माग राखेर व्यवसायीले आयल निगम र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, मागका विषयमा सुनुवाई हुने छाँटकाँट नदेखिएपछि आन्दोलनलाई निरन्तरता दिनु परेको अध्यक्ष कोइरालाले बताए ।

पेट्रोलियम व्यवसायीको आन्दोलन चर्किदा पूर्वका जिल्लामा इन्धन अभाव भइहाल्ने परिस्थिति छ । पूर्वमा पेट्रोलियम भण्डारणस्थल नहुँदा उपभोक्ताले सधैँ मार खेप्दै आएका छन् ।

एकातिर मूल्यबृद्धि र अर्काेतिर अभाव झेल्नु पर्ने उपभोक्ताको बाध्यताप्रति सरकार र व्यवसायी दुबैको ध्यान गएको देखिदैँन ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ००:००  ७ : ५२ बजे