१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

झापा गोल्डकपमा पूर्व खेलाडीसहित विशिष्ट व्यक्ति सम्मानित




बिर्तामोड–
झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियन्तालाई सम्मान गरेको छ ।
अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरक–फरक क्षेत्रका सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको हो ।

झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसेन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो। झापा गोल्ड कपले प्रत्येक संस्करणमा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ ।

कलाकार प्राज्ञ पवन राजवंशी, सामाजिक व्यक्तित्व मदनगोपाल सुब्बा, अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष विन्द्रा देवान, शिक्षासेवी इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईलाई प्रतियोगिताको अलग–अलग दिन सम्मान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विशेष योगदान पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, झापा उद्योग संघका उपाध्यक्ष दीपेश ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महासचिव अर्जुन मैनालीलाई सम्मान गरेको छ ।

झापा गोल्ड कपले पूर्वमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल, नेपाली कांग्रेस १ नम्बर प्रदेश सभापति उद्धव थापा, डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक तथा सामाजिक अभियन्ता लोकबन्धु कन्दङवा, झापाका पूर्वप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई सम्मान गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारका सदस्य भीमलाल र ललिता राजवंशीलाई नगद ३१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

झापा गोल्ड कपले पूर्वेली युवा क्लब र मेची हेल्थ फिटनेस सेन्टर, वीरता जेसिज, नवोदय फनमिन स्कुलसहित कार्यसमिति सदस्यहरु चन्द्रमणि कट्टेल, यादव पोखरेल, विष्णु सिग्देललाई कदरपत्र प्रदान गरेको छ । झापा फुटबल क्लबका खेलाडी सरोज कार्की डोलीलाई कदरपत्रसहित विदाइ गरिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार ००:००  ९ : ४६ बजे